गान्तोक। सिक्किममा पत्रकारिता क्षेत्रको विकास, पत्रकारहरूका समस्या र राज्य हितका विषयमा राज्यका पत्रकार र सरकार माझ कसरी समन्वय स्थापित गर्ने भन्ने विषयमा आज प्रेस क्लब अफ् सिक्किम र राज्य सरकारका प्रतिनिधिहरू माझ समन्वय बैठक सम्पन्न भयो। प्रेस क्लब अफ् सिक्किमको तादोङ स्थित पत्रकार भवनमा आयोजित बैठकमा सिक्किम सरकारको पक्षबाट मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत र आईपीआर विभागका सल्लाहकार विरेन्द्र तामलिङ अनि प्रेस क्लब अफ् सिक्किमको कार्यकारी समितिका सदस्यहरूको उपस्थिति रहेको थियो। बैठक अवधि प्रेस क्लब अफ् सिक्किमको गतिविधि, आगामी २०औं स्थापना दिवसको तयारी र पत्रकारहरूले भोग्न परिरहेका समस्या बारे सरकारका प्रतिनिधिलाई अध्यक्ष शेखर खवासको पक्षबाट अवगत गराइयो। पत्रकारहरूका केही जटिल मुद्दामाथि चर्चा अवधि सरकार पक्षका प्रतिनिधिबाट विभिन्न सुझाउ राखिएको भने तत्काल सरकार पक्षबाट हस्तेक्ष गरिनुपर्ने विषयलाई सम्बन्धित विभाग र मुख्यमन्त्री समक्ष राखेर समाधानको पहल खोज्ने पनि उनीहरूको पक्षबाट आश्वासन प्राप्त भएको छ।
आजको बैठक अवधि दीर्घ लम्बित विज्ञापन नितिमा समय अनुरुप सुधार ल्याइनु पर्ने, पत्रकारिता क्षेत्रमा सिक्किममा रहेर २० वर्ष अधिकको सेवा दिएर ६० वर्षको उमेर पार गरेका पत्रकारहरूलाई सरकारको पक्षबाट मासिक पेन्सन दिनुपर्ने, डिजिटल मिडिया सञ्चालनको निम्ति सरकार पक्षले शुरु गरेको नीति निर्धारण प्रक्रियालाई चाँढै निष्कर्षमा पुऱ्याउनु पर्ने लगायत अन्य माग प्रेस क्लब अफ् सिक्किमको पक्षबाट राज्य सरकारका प्रतिनिधि समक्ष राखिएको छ। यी सबै विषयको समाधानका लागि राज्य सरकारको पक्षबाट पहल शुरु गरिने वचन दिंदै मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्माले सरकारले जनहितका कार्यमा प्रेस जगत र सरकारले समन्वय राखेर काम गर्नुपर्ने मन्तब्य राखे। सभामा मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत र आईपीआर विभागका सल्लाहकार विरेन्द्र तामलिङले विभिन्न सुझाउ साथै सरकार र प्रेस मिलेर गर्नसक्ने विविद पक्षबारे आ-आफ्नो विचार राखेका थिए।










