नयाँ दिल्ली: भारतीय जनता पार्टी (भाजपा) सिक्किम प्रदेशका अध्यक्ष डी. आर. थापाले बुधबार नयाँ दिल्लीस्थित पार्टीको केन्द्रीय मुख्यालयमा भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नबीन र राष्ट्रिय सङ्गठन महामन्त्री बी. एल. सन्तोषसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ। उक्त भेटघाटमा सिक्किम प्रदेश महासचिव अर्जुन राईको पनि उपस्थिति रहेको थियो।
बैठकका क्रममा नेताहरूबीच सिक्किममा पार्टीको साङ्गठनिक एवं राजनीतिक वस्तुस्थितिबारे विस्तृत छलफल भएको छ। प्रदेश नेतृत्वले केन्द्रीय नेताहरूलाई सिक्किममा पार्टीको वर्तमान कार्यसञ्चालन, तल्लो तह (ग्रासरुट) सम्म भइरहेका साङ्गठनिक गतिविधिहरू र जनसम्पर्क अभियानबारे अवगत गराउनुभएको थियो। यसका साथै आगामी दिनमा राज्यमा पार्टीसामु रहेका चुनौती र सम्भावनाहरूमाथि पनि गहन समीक्षा गरिएको छ।

सिक्किम भाजपाको प्रचार विभागद्वारा जारी विज्ञप्ति अनुसार, केन्द्रीय नेतृत्वले सिक्किममा पार्टीको उपस्थिति अझ सुदृढ बनाउन र जनस्तरमा प्रभाव बढाउनका लागि आगामी साङ्गठनिक रणनीति र कार्यक्रमहरूका सन्दर्भमा महत्वपूर्ण मार्गदर्शन तथा निर्देशन प्रदान गरेको छ।









