गान्तोक: भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूद्वारा सिक्किम पुलिसलाई प्रतिष्ठित “प्रेसिडेन्ट्स पुलिस कलर” प्रदान गरिएकोमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले गर्व व्यक्त गरेका छन्। आज बिहान पाल्जोर स्टेडियममा आयोजित भव्य समारोहमा उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रममा सिक्किमका राज्यपाल श्री ओमप्रकाश माथुरको पनि उपस्थिति रहेको थियो।
मुख्यमन्त्री तामाङले यो सम्मान सिक्किम प्रहरीका अधिकृत तथा जवानहरूले राज्यमा शान्ति, सद्भाव र सुरक्षाको संरक्षणका लागि देखाएको उत्कृष्ट समर्पण, अनुशासन, व्यावसायिक दक्षता, साहस र निःस्वार्थ सेवाको प्रतीक भएको बताए। उनले सिक्किम पुलिसले सधैं कानूनी शासनको पालना गर्दै इमान्दारिता, संवेदनशीलता र सम्मानका साथ जनताको सेवा गर्दै आएको उल्लेख गरे।
यस ऐतिहासिक उपलब्धिका अवसरमा मुख्यमन्त्रीले सिक्किम पुलिसका वर्तमान तथा अवकाशप्राप्त सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई तथा प्रशंसा व्यक्त गरे। उनले प्रहरी बलका सदस्यहरूको अथक मेहनत, समर्पण र त्यागकै कारण यस्तो गौरवपूर्ण सम्मान प्राप्त भएको बताए।

यो सम्मान केवल पुलिस संगठनको उत्कृष्ट सेवाको कदर मात्र नभई सम्पूर्ण सिक्किमवासीका लागि गर्वको विषय भएको उनको भनाइ थियो।
मुख्यमन्त्रीले “प्रेसिडेन्ट्स पुलिस कलर” सम्मानले राज्य र राष्ट्रको शान्ति, प्रगति तथा समृद्धिका लागि अझ समर्पित भएर काम गर्ने प्रेरणा मिलेको उल्लेख गरे। साथै, सिक्किम पुलिसले आगामी दिनहरूमा पनि सेवा, साहस र उत्कृष्टताको उच्च परम्परालाई निरन्तर कायम राख्ने विश्वास व्यक्त गरे।










