गान्तोक। सिक्किम पुलिसका एएसआई सन्तबीर तामाङको सड़क दुर्घटनामा मृत्यु भएको थियो। आज तिनको अन्तिम संस्कार सम्पन्न भयो स्व. तामाङलाई गार्ड अफ् अनर प्रदान गरियो। मंगन जिल्लाको पाकसेपमा सम्पन्न स्व. तामाङको अन्तिम संस्कारमा सिक्किम पुलिसका डीजीपी ए. सुधाकर राव, एसडीजीपी विधि एवं व्यवस्था अक्षय सचदेव, डीआईजीपी गान्तोक रेन्ज टाशी वाङ्ग्याल भोटिया, मंगन जिल्लाका अधीक्षक छिरिङ ग्याछो भोटिया तथा पुलिसका अन्य वरिष्ठ अधिकारीहरू पनि सहभागी बने।
डीजीपी रावले मृतकका आफन्तलाई अनुग्रह अनुदान स्वरूप चार लाख रूपियॉं हस्तान्तरण गरे। त्यसपछि, पुलिस अधिकारीहरूले लिङदोङमा भिलेज गार्ड स्व. उर्गेन लेप्चाको घर पुगेर एक लाख रूपियॉं अनुग्रह अनुदान हस्तान्तरण गरे। सड़क मार्ग बन्द रहेकाले अर्का मृतक स्व. ल्यानसङ लेप्चाको घर परिवारसॅंग भेट गर्नु सकिएन। यद्यपि, जिल्लाका वरिष्ठ पुलिस अधिकारीहरूले तीनैजना मृतकका परिवारहरूसॅंग अगावै भेट गरिसकेको जानकारी सिक्किम पुलिसका डीआईजी-एसबी प्रवीण गुरूङले प्रेस विज्ञप्तिमा दिएका छन्।
डीजीपीले एसएस कोषबाट दुवै भिलेज गार्डलाई एक-एक लाख रूपियॉं अनुग्रह अनुदान प्रदान गरेका छन्। तीनजना पुलिस कर्मीको सर्वोच्च बलिदानलाई सिक्किम पुलिसले सदैव स्मरण गरिरहनेछ भन्दै दिवंगत आत्महरूको शान्तिका लागि प्रार्थना गरिएको छ।
उल्लेखनीय छ, गत १५ जूनको दिन उत्तर सिक्किमको लिङज्यामा भएको सड़क दुर्घटनामा एएसआई सन्तबीर तामाङ र भिलेज गार्डद्वय ल्यानसङ लेप्चा र उर्गेन लेप्चाको निधन भएको थियो। पुलिसकर्मीहरू एक आरोपितलाई लिएर फर्किरहेको समय उक्त दुर्घटना भएको थियो।










