गान्तोक: राजधानीमा जारी सिक्किम अन्तरराष्ट्रिय चलचित्र महोत्सव २०२६ को दोस्रो दिन आज चिन्तन भवनमा प्यानल छलफलबाट सुरू भयो। राज्य सूचना तथा जनसम्पर्क विभाग (आईपीआर) ले सूचना तथा प्रसारण मन्त्रालय र राष्ट्रिय चलचित्र विकास निगमको सहकार्यमा महोत्सव आयोजना गरिरहेको छ।
‘भविष्यको निर्माण: सिक्किममा चलचित्रहरूको सुदृढीकरण’ विषयमा आयोजित पहिलो प्यानल छलफलमा सिक्किम फिल्म बोर्डका अध्यक्ष टाशी छिरिङ भोटिया, आईपीआरकी सचिव अन्नपूर्ण आले, फिल्म निर्माता तथा बटरफ्लाई फिल्मका संस्थापक जेनिश पहाडी, फिल्म निर्माता प्रशान्त रसाइली, मेगा इन्टरटेनमेन्टका संस्थापक अभिजीत सिंहा, त्रिवेणी राई र टीवीईटी व्यवसायिक शिकर सक्सेना सहभागी थिए।
एनआर ग्रुपका सीईओ तथा संस्थापक नितेश रोहितले सञ्चालन गरेको उक्त छलफलमा सिनेमालाई कलाको रूपमा केन्द्रमा राखेर बहस गरिएको थियो। प्यानलिस्टहरूले फिल्म उद्योगमा देखिएका मानव संसाधनसम्बन्धी चुनौतीहरूबारे खुलस्त चर्चा गरे। उनीहरूले आधारभूत फिल्म शिक्षाको आवश्यकता र टिमवर्कको महत्त्वमा विशेष जोड दिँदै उत्तर–पूर्वका उदीयमान कलाकारहरूको योगदानको प्रशंसा गरे।
त्यसैगरी, क्षेत्रीय सिनेमाको भूमिका, स्वतन्त्र फिल्म निर्माणमा बढ्दो सम्भावना र फरक–फरक दर्शकसँग जोडिने अर्थपूर्ण कथावस्तु निर्माणको आवश्यकतामाथि पनि विचार राखियो। फिल्म महोत्सवहरूले सिर्जनात्मक व्यक्तिहरूलाई आफ्नो काम प्रस्तुत गर्ने र अनुभव साटासाट गर्ने उत्कृष्ट मञ्च प्रदान गर्ने कुरामा सबैको जोड थियो।
छलफलमा परिवर्तनशील दर्शक रुचि, डिजिटल प्लेटफर्महरूको प्रभाव, नयाँ प्रविधिको प्रयोग तथा मौलिक कथा जोगाउने चुनौती र अवसरहरूबारे समेत गहिरो बहस भयो। अन्तरक्रियात्मक सत्रमा विद्यार्थी, नवप्रवेशी फिल्म निर्माता, कलाकार तथा सिनेप्रेमीहरूको उत्साहजनक सहभागिता देखिएको थियो।








