सिलगढी: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले गुप्त नवरात्रिको पावन अवसरमा सिलगढीस्थित प्रसिद्ध पहाडी माता मन्दिरमा विशेष पूजा-अर्चना गरेका छन्।
सिलगढीको लिच्ची पोखरीमा अवस्थित ऐतिहासिक एवं धार्मिक आस्थाको केन्द्र पहाडी माता मन्दिर पुगेर मुख्यमन्त्री तामाङले माता दुर्गाको चरणमा शीश झुकाउँदै प्रार्थना गरेका हुन्। उनले सम्पूर्ण सिक्किमवासी जनताको सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र कल्याणको कामना गर्दै विशेष अनुष्ठानसमेत गरे।
धार्मिक यात्रापछि सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै मुख्यमन्त्री तामाङले भनेका छन्, “गुप्त नवरात्रिको यस पवित्र घडीमा पूजनीय पहाडी माता मन्दिरमा उपस्थित भई सिक्किम र सिक्किमेली जनताको कल्याणका लागि आराधना गर्ने सौभाग्य प्राप्त भएको छ।”
उनले आदिशक्ति भवानी दुर्गा माताले हरेक घरपरिवारमा सुख-शान्ति वर्षा गरून् भन्ने कामना गरे। साथै, सम्पूर्ण समुदायबीच आपसी सद्भाव, एकता, करुणा र भाइचाराको भावना अझ बलियो बन्दै जाओस् भन्दै दिव्य माताले सबैलाई न्याय, प्रगति र सामूहिक समृद्धिको मार्गमा अघि बढ्ने प्रेरणा दिने विश्वाससमेत व्यक्त गरे।
धार्मिक अनुष्ठानका क्रममा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरूले मुख्यमन्त्री तामाङलाई भव्य स्वागत गरेका थिए। उक्त अवसरमा सिक्किम सरकारका उच्च अधिकारी तथा स्थानीय श्रद्धालुहरूको समेत उपस्थिति रहेको थियो।











