गान्तोक: भारतीय जनता पार्टीले सिक्किमलाई आगामी पाँच वर्षमा शिक्षाको क्षेत्रलाई विशेष महत्व दिँदै सिक्किमलाई शैक्षिक केन्द्रबिन्दु बनाउने घोषणा गरेको छ। शिक्षा बिना सिक्किमको विकासमा ठूलो अड्चन बन्ने भन्दै प्राथिमिक शिक्षादेखि उच्च शिक्षासम्मलाई गुणात्मक बनाउने उद्देश्य लिएर सिक्किमलाई एड्युकेशन हब बनाउने प्रतिज्ञा गरे।
आज प्रदेश भाजपा अध्यक्ष डीआर थापाले सिक्किममा घट्दो शिक्षाको गुणस्तरमाथि चिन्ता व्यक्त गर्दै भारतीय जनता पार्टीको सरकार गठन गरेर शिक्षाको क्षेत्रमा आमुल परिवर्तन गर्ने संकल्प गरिएको जानकारी दिए। उनले प्राथमिक स्तरदेखि उच्च शिक्षासम्म कै शिक्षा व्यवस्थामा सुधार गर्नुपर्ने बताउँदै भाजपाको सरकार आउने बित्तिकै यस दिशामा काम थालिने बताए।
पार्टीले आफ्नो संकल्प पत्रमा सिक्किम राज्यको आफ्नै शिक्षा बोर्ड बनाउने, राज्यले मान्यता दिएका स्थानीय भाषाहरूलाई समेत यस बोर्डमा समावेश गरेर स्थानीय भाषाहरूको संरक्षण अनि प्रबर्द्धन गर्ने उनले जनाए। सिक्किमको इतिहासलाई विद्यालय अनि उच्च शिक्षामा समावेश गरेर पठन-पाठन गरिने प्रतिज्ञा गरिएको पनि उनले दिए जानकारी।
यसरी नै सिक्किमलाई शिक्षाको क्षेत्रमा एजुकेशन हब बनाउने दिशामा इण्डियन इन्स्टीट्युट अफ् म्यानेजमेन्ट, नेशनल इन्स्टीट्युट अफ् डिजाइन अनि नेशनल इन्स्टीट्युट अफ् होटल म्यानेजमेन्ट जस्ता प्रीमियर शैक्षिक संस्थानहरूको स्थापना गरेर सिक्किममा रोजगारका अवसरसितै शिक्षाको गुणस्तर पनि बढाइने उनले बताए।
राज्यका 30 जना मेधावी विद्यार्थीलाई देशकै उच्च शैक्षिक संस्थानहरूमा भर्ना गराउन तथा शिक्षा प्रदान गर्नअघि जेईई, एनईईटी, सीईयूटी जस्ता परिक्षाका लागि तयार पार्न देशकै उच्चतम शैक्षिक संस्थानहरूमा अध्यापन गराउने जस्ता नियम तर्जूमा गरिने पनि थापाले बताए। यी शैक्षिक संस्थानबाट उत्तीर्ण युवाहरूले भारतीय प्रशासनिक सेवा र अन्य सेवाहरूमा उत्तीर्ण हुन सक्ने क्षमतावान बनाउन सो नीति लागू गरिने पनि उनले जानकारी दिए। शिक्षालाई अत्याधुनिक बनाउनका लागि प्रौद्योगिक र प्राविधीलाई समेत सञ्चालनमा ल्याइने उनले बताए।









