अध्यक्षद्वारा केन्द्रिय राज्यमन्त्री मोहोललाई निमन्त्रणा
गान्तोक: सिक्किम राज्य सहकारी सङ्घ(सिकोन)-का अध्यक्ष डा. मङ्गलजीत राईले नयाँ दिल्लीको राजीव गान्धी भवनस्थित कार्यालयमा केन्द्रिय सहकारी राज्यमन्त्री मुरलीधर मोहोलसँग शिष्टाचार भेटघाट गरेका छन्। भेटघाटका क्रममा डा. राईले आगामी २१ जूनका दिन सिक्किममा आयोजना हुन गइरहेको ‘राष्ट्रिय सहकारिता सम्मेलन’-मा मुख्य अतिथिको रूपमा उपस्थित भइदिन राज्यमन्त्री मोहोललाई औपचारिक निमन्त्रणा पत्र सुम्पेका छन्। सिक्किम सरकारको सहकारिता विभागसँगको संयुक्त तत्त्वावधानमा सिकोनले यस भव्य सम्मेलनको आयोजना गर्न लागेको हो।
भेटवार्ताको अवधि डा. राईले केन्द्रिय मन्त्रीलाई सम्मेलनको उद्देश्य र यसको दूरगामी महत्त्वबारे विस्तृत जानकारी गराए। देशका नीति निर्माता, सहकारी नेता, शिक्षाविद्, अनुसन्धानकर्ता एवं सरोकारवालाहरूलाई एउटै मञ्चमा उभ्याएर सहकारी क्षेत्रका उदीयमान अवसर, चुनौती र नीतिगत सुधारहरूमाथि गहन मन्थन गर्नु नै यस सम्मेलनको मुख्य लक्ष्य रहेको उनले बताए। विशेष गरी, यो सम्मेलन भारत सरकारको सहकारिता मन्त्रालयको ‘सहकार से समृद्धि’ को राष्ट्रिय अभियान र दृष्टिकोणसँग पूर्ण रूपले मेल खान्छ, जसले ग्रामीण समृद्धि, आत्मनिर्भरता र समावेशी विकासमा जोड दिँदै आएको छ।
डा. राईले कृषक, महिला, युवा र ग्रामीण समुदायलाई सहकारीको माध्यमबाट स्वावलम्बी बनाउनुपर्ने आवश्यकतामाथि विशेष प्रकाश पारे। यसका साथै सम्मेलन मुख्य रूपले सहकारी सुधार, डिजिटल रूपान्तरण, कृषि तथा दुग्ध सहकारी, उद्यमशीलता, क्षमता निर्माण, सुशासन र दिगो जीविकोपार्जन मोडलहरूमा केन्द्रित रहने कुरा उनले मन्त्रीलाई अवगत गराए। यस ऐतिहासिक अवसरमा सिक्किम र उत्तर-पूर्वी क्षेत्रका सहकारी क्षेत्रका उपलब्धि र उत्कृष्ट अभ्यासहरूलाई राष्ट्रिय स्तरमा प्रदर्शन गरिने विशेष योजना रहेको पनि उनले बताए।
सिकोनको यस ऐतिहासिक पहलको सराहना गर्दै केन्द्रिय राज्यमन्त्री मुरलीधर मोहोलले देशको सामाजिक-आर्थिक विकासमा सहकारी क्षेत्रको भूमिका अतुलनीय रहेको स्वीकार गरे। उनले सिक्किममा आयोजना हुन लागेको यस राष्ट्रिय स्तरको सम्मेलनको पूर्ण सफलताको कामना गर्दै मन्त्रालयको तर्फबाट सकारात्मक प्रतिक्रिया दिएका छन्। यसै क्रममा डा. राईले भारत सरकारको सहकारिता मन्त्रालयका सचिव र अतिरिक्त सचिवलाई पनि नयाँ दिल्लीमा भेटेर औपचारिक निमन्त्रणा दिएको जानकारी गराए।
यस भव्य सम्मेलनमा देशभरिका सहकारिता मन्त्रालय, एनसीडीसी, एनसीयूआई, एससीडीएफआई, आईसीएमएआई, नाबार्डका उच्च अधिकारी, विज्ञ, शिक्षाविद् र सहकारी अगुवाहरूको ठूलो सहभागिता रहने अपेक्षा गरिएको छ। यो सम्मेलन नीतिगत संवाद, ज्ञान आदान-प्रदान र नवीन सहकारी मोडलहरूको प्रवर्द्धनका लागि एउटा प्रमुख राष्ट्रिय मञ्च साबित हुनेछ, जसले ‘सहकार से समृद्धि’ को परिकल्पना र ‘विकसित भारत’ निर्माणको लक्ष्यलाई साकार पार्न ठोस योगदान दिने विश्वास राखिएको छ।










