सिक्किममा मतदाता नामावली सच्याउने काम धमाधम जारी

dbeef29c-1a4f-46c9-8a46-2c08b6881cf1

नाम्ची जिल्लामा ९९.७३ प्रतिशत गणना फाराम वितरण

नाम्ची: भारतीय निर्वाचन आयोग (ईसीआई)-को निर्देशानुसार सिक्किम राज्यभरि तेस्रो चरणको विशेष गहन पुनरीक्षण (एसआईआर) २०२६-को काम युद्धस्तरमा भइरहेको छ। एउटा सटिक अनि अप्टुडेट मतदाता नामावली तयार पार्ने उद्देश्यका साथ नाम्ची जिल्लामा पनि ब्लक स्तरीय अधिकारी (बीएलओ) हरू घर-घर पुगेर गणना फाराम (ईएफ) वितरण र सङ्कलन गर्ने काममा जुटेका छन्।
​जिल्ला चुनाउ कार्यालयबाट प्राप्त आधिकारिक आँकडा अनुसार, हालसम्म जिल्लाका विभिन्न समष्टिहरूमा गणना फाराम वितरणको कार्य लगभग पूरा हुने चरणमा पुगेको छ। यसै क्रममा बर्फुङ समष्टिमा १६,२८८ फाराम वितरण गरी ९९.४७ प्रतिशत कभरेज गरिएको छ भने पोकलोक-कामराङमा १६,९४६ फारामका साथ ९९.९६ प्रतिशत कभरेज भएको छ। त्यसै गरी नाम्ची-सिङ्घिथाङमा १३,५०२ फाराम वितरण गरेर ९९.७९ प्रतिशत, मल्लीमा १६,१०३ फारामका साथ ९९.४० प्रतिशत, नाम्थाङ-रातेपानीमा १६,५७१ फारामका साथ ९९.८६ प्रतिशत र तिमी-नामफिङमा १५,४८९ फाराम वितरण गरी ९९.६१ प्रतिशत कभरेज हासिल गरिएको छ। विशेष गरी राङ्गाङ-याङ्गाङ समष्टिमा १५,४४९ फाराम वितरण गरेर शत-प्रतिशत अर्थात् १०० प्रतिशत कार्य पूरा भएको छ। समग्रमा जिल्लाभरि सञ्चित रूपमा १,१०,३४८ गणना फाराम वितरण गरी ९९.७३ प्रतिशत कभरेज सुनिश्चित गरिएको छ।
​विशेष सूत्रले जनाए अनुसार, बीएलओहरूको यो घरदैलो अभियान आगामी २८ जूनसम्म जारी रहनेछ। यस अवधिभित्रमा बीएलओहरूले गणना फाराम वितरण र सङ्कलन मात्र गर्ने छैनन्, बरु क्षेत्रका सबै योग्य मतदाताहरूको नाम, उमेर, ठेगाना, फोटो अनि ईपीआईसी (EPIC) नम्बर जस्ता महत्त्वपूर्ण विवरणहरूको जाँच र प्रमाणीकरण पनि गर्नेछन्।
​यसै सन्दर्भमा चुनाउ विभागले जिल्लाका तमाम योग्य मतदाताहरूलाई आफ्ना क्षेत्रका बीएलओहरूसँग पूर्ण सहकार्य गर्न र सही रूपमा भरिएका गणना फारामहरू समयमै बुझाउन विशेष अपील गरेको छ। कुनै पनि समस्या वा सहायताको लागि मतदाताहरूले आफ्ना सम्बन्धित बीएलओहरूसँग सोझै सम्पर्क राख्न सक्नेछन्। चुनाउको यो महाअभियानलाई पारदर्शी, सटिक र जनमुखी बनाउनमा विभिन्न राजनीतिक दलहरूले पनि कम्मर कसेका छन्। दलहरूका बुथ लेभल एजेन्ट (बीएलए) हरू गाउँ-गाउँमा खटिएर यस संसोधन प्रक्रियामा सक्रिय भूमिका निभाउँदै मतदाताहरूलाई सहयोग पुर्‍याइरहेका छन्।

About Author

Advertisement