सिक्किममा भूकम्प: एसएसडीएमएले जनतालाई सतर्क रहन आह्वान

IMG-20260209-WA0097

गान्ताेक: सिक्किम राज्यमा हालैका भूकम्पका घटनाहरूको बीचमा राज्य आपदा प्रबन्धन प्राधिकरण (एसएसडीएमए)ले आज जनतालाई आतङ्कित नहुन, तर सतर्क र तयारी अवस्थामा रहन आह्वान गरेको छ।
एसएसडीएमएले जारी गरेको सूचनामा भूकम्प प्राकृतिक भूगर्भीय घटना भएकाले निश्चित रूपमा भविष्यवाणी गर्न नसकिने उल्लेख गर्दै भूकम्पीय क्षेत्र VI मा पर्ने सिक्किममा चिन्ताको कुनै कारण नरहेको जनाइएको छ। प्राधिकरणले सबै नागरिकहरूलाई आधारभूत तयारी र सतर्कता अपनाउन सिफारिस गरेको छ।
राज्य र जिल्ला आपदा प्रबन्धन प्राधिकरणहरूले भूकम्प सम्बन्धी जनचेतना बढाउन नियमित रूपमा म्याक-ड्रिल अभ्यास सञ्चालन गर्दै आएका छन्। साथै, विद्यालयहरूमा पनि प्राकृतिक प्रकोपप्रति जागरूकता कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिइएको छ।
एसएसडीएमएले जनतालाई अफवाह नफैलाउन, सरकारी र अधिकृत निकायद्वारा जारी आधिकारिक सूचना मार्फत अपडेट रहन, घर, कार्यालय र सार्वजनिक स्थलहरूमा सुरक्षित स्थान पहिचान गर्न र भूकम्पको समयमा मानक सुरक्षा उपायहरू पालना गर्न सुझाव दिएको छ।
प्राधिकरणले सम्बन्धित सबै विभागहरूले परिस्थिति नजिकबाट निगरानी गरिरहेको र आवश्यक तयारीका उपायहरू लागू गरिएको पनि जानकारी गराएको छ। साथै, जनतालाई सुरक्षा सुनिश्चित गर्न सहयोग गर्न अनुरोध गरिएको छ।
सिक्किमका विभिन्न ठाउँहरूमा विगत केही दिनदेखि सामान्यदेखि मध्यम तीव्रताका भूकम्पका झट्का महसुस भइरहेको छ। विशेषगरी, गत ५–६ फरवरीको राति आएको भूकम्पले पश्चिम सिक्किमका केही विद्यालयमा आंशिक क्षति पुर्‍याएको थियो।

About Author

Advertisement