गान्तोक: पूर्व सिक्किमका उच्च हिमाली क्षेत्रमा भएको भारी हिमपात र अत्यधिक चिसोका कारण अलपत्र परेका नौ सयभन्दा बढी स्थानीय बासिन्दा तथा पर्यटकहरूलाई भारतीय सेनाको त्रिशक्ति कोरका जवानहरूले सकुशल उद्धार गरेका छन्।
त्रिशक्ति कोरले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार भारी हिमपात र अत्यधिक चिसोका कारण बाटोमै फसेका पर्यटकका दुई सय पचासभन्दा बढीसहित तीन सयभन्दा बढी सवारीसाधनलाई पनि सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ।
उद्धार गरिएका ती नागरिकहरूलाई भारतीय सेनाका विभिन्न शिविरहरूमा राखेर आवश्यक चिकित्सकीय सहायता, न्यानो आश्रयस्थल तथा भोजनको प्रबन्ध मिलाइएको थियो।
भारतीय सेनाको यस मानवीय कार्यले सेना र आम नागरिकबीचको आत्मीय सम्बन्ध तथा नागरिकहरूको सुरक्षाप्रति सेनाको अटल प्रतिबद्धतालाई फेरि एकपटक झल्काएको छ।





