सिलगढी: हिमाली राज्य सिक्किममा वर्षा शुरु भएसँगै पैह्रोले समस्या बढाउन थालेको छ। वर्षाका कारण विभिन्न ठाउँमा पैह्रो जाँदा सर्वसाधारणका घरहरू भत्किएका छन्। यससँगै सिलगढी र सिक्किम जोड्ने राष्ट्रिय राजमार्ग १० मा पैह्रोका कारण यातायात अवरुद्ध भएको छ। राष्ट्रिय राजमार्ग १० का धेरै ठाउँमा पैह्रो खसेर सवारी आवागमनमा असुविधा भएको छ। यहाँ भारी वर्षाका कारण सिक्किमको याङयाङ क्षेत्रको माझुआ गाउँमा पैह्रोमा परेर तीन जनाको मृत्यु भएको छ। स्थानीय प्रशासन स्रोतका अनुसार मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन्। मृत्यु हुनेमा याबा सुब्बा, विशाल राई र मोनिता राई (महिला) रहेको जिल्ला पुलिस कार्यालयले जनाएको छ। दुर्घटनास्थल दक्षिण सिक्किमको नाम्ची जिल्लामा रहेको छ।

अविरल वर्षाका कारण सो क्षेत्रमा कम्तीमा सात घरलाई क्षति पुर्याएको छ। तीन घरमा बढी क्षति पुगेको छ। शव प्रशासनले निकालेको छ। लगातारको वर्षाका कारण सिक्किमका सडक क्षतिग्रस्त भएका छन्, जसका कारण यातायात ठप्प भएको छ। प्राकृतिक प्रकोप पछि, मैदानबाट कोही पनि सिक्किम जान सक्दैनन्। जसका कारण सिक्किम घुम्न आउने धेरै पर्यटकहरु अलपत्र परेका छन्। प्रशासनले जतिसक्दो चाँडो स्थिति सामान्य बनाउने प्रयास गरिरहेको छ।-न्यूज एसिया










