कुनै उल्लङ्घन भेटिएन
गान्ताेक: सिक्किम राज्य प्रदूषण नियन्त्रण बोर्ड (एसपीसीबी-सिक्किम)ले राज्यका विभिन्न नगरपालिक क्षेत्रहरूमा एकलबारे (सिङ्गल-युज) प्लास्टिक प्रतिबन्धलाई कडाइका साथ लागू गराउन विशेष संयुक्त निरीक्षण अभियान चलाएको छ।
शनिबार (१७ अक्टोबर २०२६) बोर्डका अधिकारीहरू, स्थानीय सहरी निकाय (यूएलबी) का प्रतिनिधि र सिक्किम प्रहरीको टोलीले रङ्पो, नयाँबजार-जोरेथाङ, नाम्ची, सिङताम र ग्याल्जिङका मुख्य सहरी तथा व्यावसायिक क्षेत्रहरूमा संयुक्त गस्ती र निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा प्लास्टिक-स्टिक भएका इयर बड्स, बेलुन स्टिक, क्यान्डी तथा आइसक्रिम स्टिक, प्लास्टिकका झण्डा, सजावटमा प्रयोग हुने थर्मोकोल, प्लास्टिकका कप, प्लेट, गिलास, स्ट्र, चम्चा, काँटा र अन्य कटलरी सामग्रीको प्रयोग भए-नभएको जाँच गरिएको थियो। यसैगरी मिठाईका बक्स, चुरोटका बट्टा, निमन्त्रणा कार्ड वरिपरि बेरिने प्लास्टिक फिलिम, १०० माइक्रोनभन्दा कमका पीभीसी वा प्लास्टिक ब्यानर, ६० जीएसएमभन्दा कमका ‘नन-वुभन’ प्लास्टिक झोला, १२० माइक्रोनभन्दा पातला प्लास्टिक झोला र २ लिटर वा सोभन्दा साना बोतलका सिलबन्दी खानेपानी (अल्कालाइन वाटरसमेत) को प्रयोग तथा बिक्री-वितरणमा पूर्ण प्रतिबन्ध लगाइएको बोर्डले जनाएको छ।
प्लास्टिक फोहोर व्यवस्थापन नियम, २०१६ अनुसार प्रतिबन्धित सामग्रीहरू बिक्री वा प्रयोग भए-नभएको यकिन गर्न स्थानीय पसल तथा व्यावसायिक प्रतिष्ठानहरूको अनुगमन गरिएको थियो। अभियानका क्रममा सर्वसाधारण, खुद्रा व्यापारी तथा विक्रेताहरूलाई प्रतिबन्धित प्लास्टिक सामग्रीबारे सचेतनासमेत गराइएको छ।
निरीक्षणका क्रममा तोकिएका क्षेत्रहरूमा प्लास्टिक नियम उल्लङ्घन भएको नभेटिएकाले कुनै पनि प्रतिबन्धित सामग्री जफत नगरिएको र जरिवानासमेत नगरिएको बोर्डले जनाएको छ।
सिक्किमलाई प्लास्टिकमुक्त राज्य बनाइराख्न सर्वसाधारण, खुद्रा व्यापारी, वितरक तथा पसल सञ्चालकहरूबाट सहयोगको अपेक्षा गर्दै बोर्डले प्रतिबन्धित प्लास्टिक सामग्री प्रयोग नगर्न पुनः आग्रह गरेको छ। बोर्डका अनुसार यस्ता अनुगमन तथा कारबाही अभियान महिनाको प्रत्येक चार दिनमा निरन्तर सञ्चालन गरिनेछ।





