गान्तोक: दार्जीलिङ सांसद राजु विष्टले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको सात वर्षे कार्यकाल पूरा भएको अवसरमा हार्दिक बधाई ज्ञापन गरेका छन्। दार्जीलिङ क्षेत्रका लोकप्रिय सांसद विष्टले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री गोलेको गतिशील नेतृत्व र सुशासनको उच्च प्रशंसा गर्दै सिक्किमले प्राप्त गरेको प्रगतिको चर्चा गरेका हुन्।
मुख्यमन्त्रीको ७ वर्षे कार्यकाललाई विशेष महत्व दिँदै सांसद विष्टले सामाजिक सञ्जालमा लेखेका छन्, “सिक्किमका माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ ज्यूलाई ७ वर्षको समर्पित नेतृत्व र सुशासन सफलतापूर्वक पूरा गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु।”
सांसद विष्टले मुख्यमन्त्रीको कार्यकालमा सिक्किमले अभूतपूर्व विकासको गति समातेको उल्लेख गर्दै अगाडि थपेका छन्, “तपाईंको नेतृत्वमा सिक्किमले उल्लेखनीय प्रगति, जनमुखी विकास र समावेशी समृद्धिका लागि बलियो प्रतिबद्धता महसुस गरेको छ। सिक्किमका जनताको सेवामा तपाईंको यो यात्रा आगामी दिनमा अझ बढी सफल रहोस् भन्ने कामना गर्दछु।”
सिक्किममा राजनीतिक परिवर्तन र नयाँ व्यवस्थाको सुरुवात भएको अवसरलाई केन्द्रित गर्दै सांसद विष्टले प्रकट गरेको यो शुभेच्छालाई सीमावर्ती क्षेत्र तथा क्षेत्रीय राजनीतिमा विशेष चासोका साथ हेरिएको छ। मुख्यमन्त्री
तामाङको नेतृत्वमा सिक्किमले सामाजिक, आर्थिक र पूर्वाधारका क्षेत्रमा हासिल गरेको उपलब्धिलाई छिमेकी क्षेत्रका जनप्रतिनिधिले खुलेर प्रशंसा गरेपछि दुई क्षेत्रबीचको पारस्परिक सम्बन्ध थपमजबुत हुने विश्वास लिइएको छ।










