कला र सांस्कृतिक क्षेत्र स्तब्ध
गान्ताेक: सिक्किमको कला, वास्तुकला, फोटोग्राफी र सांस्कृतिक सम्पदाका प्रख्यात धरोहर स्वर्गीय किरण रसाइलीको निवासस्थानमा पुगेर मुख्यमन्त्री प्रेम सिंह तामाङले उनकाे भौतिक शरीरप्रति हार्दिक एवं अन्तिम श्रद्धाञ्जली अर्पण गरे।
सिक्किमको मौलिक पहिचान र कलात्मक गरिमालाई विश्वसामु चिनाउन उहाँले पुर्याउनुभएको विशिष्ट योगदानको स्मरण गर्दै दिवंगत आत्माको चिर शान्तिको
मुख्यमन्त्रीले कामना गरे। स्वर्गीय रसाइली सिक्किमको बौद्धिक र सिर्जनशील समुदायका एक यस्ता मार्गदर्शक हुनुहुन्थ्यो, जसले आफ्नो रचनात्मक क्षमता र दूरदर्शी दृष्टिकोणको माध्यमबाट सिक्किमको समग्र कलात्मक परिदृश्यलाई एउटा नयाँ उचाइमा पुर्याउनुभएकाे मुख्यमन्त्रीले बताए।
उल्लेखनीय, स्वर्गीय रसाइलीले आफ्नो जीवनकालमा सिक्किमको परम्परागत र आधुनिक वास्तुकलाको संरक्षणमा मात्र नभई फोटोग्राफी र ललितकलाको माध्यमबाट यहाँको प्राकृतिक एवं सांस्कृतिक सौन्दर्यलाई जीवन्त राख्न अहर्निश कार्य गर्नुभएका छन्।
नयाँ पुस्ताका युवा प्रतिभाहरूलाई पहिचान गर्ने, उनीहरूलाई सही मार्गदर्शन दिने र सिक्किमको मौलिक सांस्कृतिक पहिचानलाई जोगाउँदै अघि बढाउने सवालमा उहाँको समर्पण सधैं अतुलनीय रह्यो। उहाँको यही निस्वार्थ भावनाले गर्दा नै आज सिक्किमका असङ्ख्य युवाहरू कला क्षेत्रमा लागेर अघि बढ्न प्रेरित भएका छन्।

स्वर्गीय रसाइलीले सिर्जना गर्नुभएका अनुपम कलाकृतिहरू, खिच्नुभएका ऐतिहासिक तस्बिरहरू र कला क्षेत्रमा छोडेर जानुभएको गहिरो छाप इतिहासको पानामा सधैं अमर रहनेछन्। उहाँको भौतिक अवसान भए पनि उहाँले समाजमा पुर्याउनुभएको योगदान र उहाँको अमूल्य विरासत भावी पुस्ताका लागिसमेत प्रेरणाको स्रोत बनिरहनेछ।
यस अपूरणीय क्षतिको दुखद घडीमा गहिरो शोकमा डुबेका शोकाकुल परिवारजन, आफन्त र प्रशंसकहरू सवैप्रति हार्दिक समवेदना व्यक्त गर्दै यस असह्य पीडालाई सहन गर्ने शक्ति मिलोस् भनी कामना गरिएको छ।











