साहित्यकार वसन्तकुमार राईको स्मरणमा सोनादा डिग्री कलेजमा श्रद्धाञ्जलि सभा सम्पन्न

IMG-20221104-WA0230.jpg

सोनादा: सोनादा डिग्री कलेजका इतिहास विभागका संस्थापक स्वयंसेवक शिक्षक तथा नेपाली साहित्यका वरिष्ठ कथाकार तथा शान्तिरानी उच्चतर माध्यमिक विद्यालयका पूर्व प्रधान अध्यापक पचेङ, सोनादा निवासी सत्तासी वर्षीय वसन्तकुमार राईको गत २९ अक्टोबरको दिन निधन भएको थियो। आफ्नो जीवन कालमा उनले सोनादा डिग्री कलेजको स्थापना एवम् कलेजको उत्तरोत्तर प्रगति साथै नेपाली साहित्यमा दिएको योगदानको स्मरण गर्दै सोनादा डिग्री कलेजको प्रेक्षागृहमा प्राचार्य डा. एलपी.गुप्ताको अध्यक्षतामा शोक सभा तथा श्रद्धाञ्जली सभा सम्पन्न भयो। राईको प्रतिकृतिमा सबैले माल्यार्पण एवम् पुष्पार्पण गरेपछि उनको आत्मा शान्तिको लागि दुइ मिनटको मौन धारण गरिएको थियो। सन् १९८५ सालमा स्थापित सोनादा डिग्री कलेजमा पठन- पाठन शुरु गर्नको लागि सरकारी शिक्षकहरू नियुक्ति नभईञ्जेल त्यसबेला शान्तिरानी हाई स्कूलका केही शिक्षकहरूले कलेजमा पनि स्वयंसेवक शिक्षकको रुपमा सेवा गर्ने क्रममा बसन्तकुमार राईले पनि इतिहास विषय पढाएको कुरोको जानकारी दिँदै श्रद्धाञ्जलि सभामा डा रागिनी थापाले बसन्तकुमार राईको शैक्षिक-साहित्यिक योगदानबारे चर्चा गरेका थिए भने प्रा.मेघनाथ छेत्रीले कथाकार बसन्तकुमार राईका नव कुसुम, शान्ति टोल, मुटुको बह, बसन्तका कथाहरू, केही कथाहरूभित्रका कथाहरूबारेमा साथै उनले आफ्नो जीवन कालमा पाएका अरूगी पुरस्कार(खरसाङ), शिवकुमार राई स्मृति पुरस्कार (जीटीए)आदि बारेमा जानकारी दिएका थिए। प्राचार्य डा. एल. पी. गुप्ताले आफ्नो सम्बोधनमा स्व.वसन्तकुमार राईले कलेज स्थापनाको समयमा दिएको योगदानको मूल्याङ्कन गर्दै उनको निधन शैक्षिक-साहित्यिक क्षेत्रको लागि अपूरणीय क्षति भनी बताउँदै कलेजको रजत जयन्तीको समयमा कलेजका संस्थापक शिक्षक-शिक्षिकाहरूलाई अभिनन्दन गर्ने क्रममा वसन्तकुमार राईलाई पनि सम्मान-अभिनन्दन जनाइएको कुरो स्मरण गराए। श्रद्धाञ्जलि सभामा प्रा.सुशिला बराईली, प्रा. प्रमोद छेत्री, प्रा. इलोरा शर्मा, प्रा. सुवास देवान, उत्तमा सुन्दास आदि लगायत विद्यार्थीहरूले पनि श्रद्धाञ्जलि अर्पण गरेका थिए। श्रद्धाञ्जलि सभापछि कलेजबाट प्रदान गरिने शोक समवेदना पत्र शोकित परिवारसमक्ष पुर्याएको थियो। शोक समवेदना पत्र प्रा. सुवास देवानले पठन गरेका थिए। 

About Author

Advertisement