नयाँ दिल्ली: भारतीय दूरसञ्चार नियामक निकाय (ट्राइ) ले सार्वजनिक गरेको तथ्यांकअनुसार गत साउन (अगस्ट) महिनामा रिलायन्स जिओले सबैभन्दा धेरै २४ लाख (२.४ मिलियन) नयाँ मोबाइल ग्राहक थपेको छ। जिओपछि दोस्रो स्थानमा रहेको भारती एयरटेलले २१ लाख १० हजार (२.११ मिलियन) नयाँ प्रयोगकर्ता जोडेको छ।ट्राइका अनुसार साउन मसान्तसम्म जिओका कुल मोबाइल ग्राहक संख्या ५० करोड ८४ लाख पुगेको छ, जुन असार मसान्तमा ५० करोड ६० लाख थियो। यस्तै, एयरटेलका ग्राहक ४८ करोड ९४ लाखबाट बढेर ४९ करोड १६ लाख पुगेका छन्।उक्त अवधिमा भोडाफोन आइडियाले करिब ५ लाख ६ हजार र सरकारी स्वामित्वको बीएसएनएलले ४ लाख ९३ हजार नयाँ ग्राहक थपेका छन्। अर्को सरकारी कम्पनी एमटीएनएलले भने ५ हजार ९ सय ग्राहक गुमाएको छ।समग्रमा, भारतमा मोबाइल तथा फिक्सड वायरलेस पहुँचसहितको कुल ग्राहक संख्या साउन मसान्तसम्म १ अर्ब ३१ करोड २२ लाख पुगेको छ। यो अघिल्लो महिनाको तुलनामा ०.४६ प्रतिशतको वृद्धि हो। शहरी क्षेत्रमा वायरलेस ग्राहक ७५ करोड ३८ लाखबाट बढेर ७५ करोड ९१ लाख र ग्रामीण क्षेत्रमा ५५ करोड २४ लाखबाट बढेर ५५ करोड ३१ लाख पुगेका छन्।भारतीय दूरसञ्चार बजारमा निजी सेवाप्रदायकको वर्चस्व कायमै छ। कुल मोबाइल ग्राहकको ९२.७५ प्रतिशत हिस्सा निजी कम्पनीहरूकै छ भने सरकारी स्वामित्वका बीएसएनएल र एमटीएनएलको संयुक्त हिस्सा ७.२५ प्रतिशत मात्र छ।सक्रिय (एक्टिभ) ग्राहकका आधारमा भने एयरटेल अगाडि छ। एयरटेलका कुल ग्राहकमध्ये ९९.०१ प्रतिशत प्रयोगकर्ता सक्रिय रहेको ट्राइले जनाएको छ। तारसहितको फोन (वायरलाइन) समेत जोड्दा भारतमा कुल टेलिफोन ग्राहक संख्या १ अर्ब ३६ करोड ७ लाख पुगेको छ।





