दार्जिलिङ: आज स्थानीय साउथफिल्ड कलेजको मदर डेमियन प्रेक्षागृहमा साहित्यकार झमक घिमिरेको जीवनमा आधारित फिल्म ‘जीवन काँडा कि फूल’ फिल्म प्रदर्शन गरियो। साउथफिल्ड कलेज भूतपूर्व विद्यार्यी सङ्गठनको आयोजनामा प्रदर्शन गरिएको कार्यक्रममा उक्त चलचित्रका निर्देशक विनोद छेत्री साथै कलाकार मेनका प्रधान उपस्थित थिइन्। प्रथम प्रदर्शन बिहान १० बजे कलेजकै विद्यार्थीवर्गका निम्ति राखिएको थियो भने दोस्रो प्रदर्शन दिउँसो २ बजेदेखि स्थानीय महारानी उच्च कन्या विद्यालय, नेपाली कन्या उच्च विद्यालय साथै नगरपालिका कन्या उच्च विद्यालय तथा साउथफिल्ड कलेज भूतपूर्व सङ्गठनका सदस्य अनि कलेजसँग सम्बन्धित व्यक्तिहरूका निम्ति प्रदर्शन गरिएका थिए।

भूतपूर्व विद्यार्थी सङ्गठनले आफ्ना सामाजिक र शैक्षिक क्रियाकलापलाई निरन्तरता दिन कोष सङ्ग्रह गर्ने उद्देश्यले प्रदर्शन गरिएको यस ‘च्यारिटी शो’ मा सहयोग पुर्याउन हुने सम्पूर्ण महानुभाव साथै विभिन्न विद्यालयका विद्यार्थीवर्ग तथा यस कार्यक्रमसँग सम्बन्धित सबैलाई साउथफिल्ड कलेज भूतपूर्व विद्यार्थी सङ्गठनको पक्षमा सचिव सुप्रभा मञ्जिल दोङले धन्यवाद साथै कृतज्ञता प्रकट गरेकी छन्।










