नाम्ची: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) को महिला शाखाको प्रतिनिधिमण्डलले नाम्ची जिल्ला प्रशासनिक केन्द्रमा आयोजित महिला जनसुनुवाइमा साइबर बुलिङ र यौन उत्पीडनका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
प्रतिनिधिमण्डलले एसडीएफ प्रवक्ता योजना राई विरुद्ध सामाजिक सञ्जालमार्फत गरिएको साइबर बुलिङ, यौन उत्पीडन र बलात्कारको धम्कीसम्बन्धी मुद्दा अझै विचाराधीन रहेको र यसबारे ठोस कारबाही नभएको जनाएको छ।
महिला जनसुनुवाइ सिक्किम राज्य महिला आयोग र राष्ट्रिय महिला आयोग को पहलमा आयोजना गरिएको थियो। कार्यक्रममा एसडीएफ नेतृ कोमल चामलिङ ले २७ अक्टोबर २०२५ मा राज्य महिला आयोग र पुलिस महानिदेशकलाई तथा ६ नोभेम्बर २०२५ मा राष्ट्रिय महिला आयोगलाई ज्ञापनपत्र बुझाइएको जानकारी दिइन्। तर पाँच महिना बितिसक्दा पनि मुद्दा समाधान नभएको उनले बताइन्।
उनले घटनासम्बन्धी प्रहरीको कारबाही प्रतिवेदनप्रति असन्तुष्टि व्यक्त गर्दै आवश्यक विवरणहरू पहिले नै उपलब्ध गराइसकिएको पनि उल्लेख गरिन्। साथै राज्य महिला आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै आयोगकी एक सदस्य २९ अक्टोबर २०२५ मा सिक्किम क्रान्तिकारी मोर्चा को पत्रकार सम्मेलनमा सहभागी भएको विषयले कानुनी संस्थाको निष्पक्षतामाथि गम्भीर चिन्ता उत्पन्न गरेको बताइन्।
यसैबीच, एसडीएफ नेतृ योजना खालिङ ले महिला जनसुनुवाइ सार्वजनिक सुनुवाइभन्दा बढी नोकरशाही बैठक जस्तो देखिएको टिप्पणी गर्दै यस्ता कार्यक्रमलाई तल्लो तहसम्म विकेन्द्रीकृत गर्नुपर्ने सुझाव दिइन्। उनले साइबर बुलिङ र बलात्कारको धम्की जस्ता घटनामा चाँडो न्याय नपाए खतरनाक उदाहरण स्थापित हुन सक्ने चेतावनी पनि दिइन्।
प्रेस विज्ञप्तिअनुसार प्रतिनिधिमण्डलले सिक्किममा बाल यौन दुरुपयोगसम्बन्धी बाल यौन अपराधबाट संरक्षण ऐन अन्तर्गतका मुद्दाहरू बढ्दै गएको विषयमा पनि ध्यानाकर्षण गराएको छ।









