एकान्नब्बे लाखभन्दा बढी रकम शंकास्पद
सिलगढी: साइबर ठगीको शंकास्पद कारोबारमा संलग्न रहेको आरोपमा सिलगढी पुलिसले एक युवतीलाई पक्राउ गरेको छ।
सिलगढी पुलिस कामिसनेरेटअन्तर्गतको प्रधाननगर थानाको पुलिस टोलीले ‘अपरेसन साइबर प्रहार’ अभियानअन्तर्गत खरिबाडी थाना क्षेत्रको बातासिया बसस्ट्यान्डबाट दार्जिलिङको खरिबाडी निवासी १९ वर्षीया मनीषा मण्डललाई पक्राउ गरेको हो।
पुलिस अनुसन्धानका क्रममा उनको इन्डसइन्ड बैंकको खातामा साइबर ठगीसँग जोडिएको शंकास्पद रु ९१,२१,८०८ (एकान्नब्बे लाख एक्काइस हजार आठ सय आठ) जम्मा भएको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।





