सांसद महुआ मोइत्राको बयानको भाजपा सिक्किमले निन्दा

photocollage_202276221538322.jpg

गान्तोक: तृणमूल कङ्ग्रेसकी सांसद महुआ मोइत्राको बयानको भाजपा सिक्किमले निन्दा गरेको छ। जसमा तिनले भुटानमा मानिसहरूले प्रत्येक बिहान पूजा गर्दा भगवानलाई ह्विस्की चढ़ाउँछन् भनेर बयान दिएकी छन्। भाजपा अनुसूचित जाति मोर्चाको राष्ट्रिय कार्यकारिणी सदस्य याप छिरिङ भोटियाले आज प्रेस विज्ञप्ति जारी गरेर महुआ मोइत्राको उक्त बयानमाथि घोर आपत्ति जनाउँदै उक्त बयानको कड़ा शब्दमा निन्दा गरेका छन्। उनले भनेका छन्, धार्मिक आस्था र विश्वासको विपरीत तृणमूल सांसदले कपोकल्पित रूपमा जुन किसिमले हाम्रो धार्मिक भावना अनि आस्थामाथि चोट पुऱ्याउने काम गरेकी छन्, यो असहनीय विषय हो।
उनले भनेका छन्, सिक्किम प्रमुख रूपमा सनातनी हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको बसोबासो रहेको राज्य हो। दुवै धर्मावलम्बीहरूको आ-आफ्नो पूजा पद्धतिहरू छन्, तर कुनै पूजा पद्धतिमा ह्विस्की अथवा रक्सी चढ़ाउने चलन छैन। कतिपय जनजातीय चाड़-पर्व तथा रीति रिवाजहरूको क्रममा भने घरमै तयार पारिएको खाद्यको रूपमा प्रयोगमा ल्याइन्छ तर प्रत्येक बिहान पूजा अर्चना गर्दा रक्सी चढ़ाउँछन् भन्ने सांसद मोइत्राको बयान पूर्णरूपले गलत हो।
उनले सांसद मोइत्रा अनि तृणमूल कांग्रेसले बारम्बार सनातनी धर्मावलम्बीहरूको आस्थामाथि चोट पुऱ्याएर आफ्नो तुष्टीकरणको राजनीतिक दुनो सोझ्याउँदै आएको सर्वविदितै छ भनी बताएका छन्। यसै क्रममा हिजो एक राष्ट्रिय समाचार च्यानलको सम्मेलनमा हालै चर्चामा आएको एउटा हिन्दू देवीको आपत्तिजनक पोस्टरलाई लिएर बोल्दै सांसद मोइत्राले जुन प्रकारले सिक्किमे जनमानसको धार्मिक आस्था र विश्वासमाथि आघात पुऱ्याउने किसिमले बयान दिएको उनले बताएका छन्। तिनले भाजपा एसटी मोर्चा यसको भर्त्सना अनि निन्दा गर्दै सांसद मोइत्राविरूद्ध कड़ा कानूनी कार्वाही गरिनुपर्ने माग गर्दछ भनी विज्ञप्तिमा बताएका छन्। उनले भाजपा सिक्किम एसटी मोर्चाको पक्षबाट यस विषयमा उक्त सांसदविरूद्ध प्राथमिकी दर्ता गरिसकेको अनि अहिले पुलिसमा विचाराधीन रहेको पनि जानकारी दिएका छन्।

About Author

Advertisement