सिक्किम: सरस्वती विद्या निकेतनमा वार्षिक अनुष्ठान एवं पूर्व आचार्य-आचार्याहरूलाई अभिनन्दन जनाउने कार्य सम्पन्न

3a446653-9d63-4fb5-a014-e606f2e625ea

गान्तोक: बिहीवार विद्या भारती सिक्किमद्वारा गान्तोक जिल्ला अन्तर्गत सामदोङमा सञ्चालित सरस्वती विद्या निकेतनमा वार्षिक अनुष्ठान एवं पूर्व आचार्य-आचार्याहरूलाई अभिनन्दन जनाउने कार्य सम्पन्न गरियो। यस अवसरमा जिल्ला पञ्चायत अध्यक्ष बलराम अधिकारी मुख्य अतिथिको रूपमा उपस्थित थिए। यसै गरी, कार्यक्रममा विद्या भारती सिक्किमका अध्यक्ष छुल्टिम भोटिया, महासचिव विजय कुमार शर्मा, स्थानीय विद्यालय सञ्चालन समितिका पदाधिकारीहरू, अभिभावकहरू, स्थानीय ग्रामीण जनता र विद्यार्थीहरू उपस्थित थिए। कार्यक्रममा वर्षभरिका आय-व्यय, विद्यालयका गतिविधिहरू, उपलब्धीहरूको बारेमा जानकारी गराइयो। विद्यालयका विद्यार्थीहरूले भजन, रंगारंग सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए। विद्यालयका पूर्व आचार्य-आचार्याहरूलाई उनीहरूका योगदानको निम्ति आभार व्यक्त गर्दै सम्मानित गरियो।

मुख्य अतिथि जिल्ला पञ्चायत अध्यक्ष बलराम अधिकारीले विद्या भारती सिक्किमको मुग्धकण्ठले प्रशंसा गर्दै विद्या भारतीले शिक्षाको क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको बताए। विद्या भारतीले आफ्ना विद्यार्थीहरूलाई गुणात्मक शिक्षाका साथै संस्कारयुक्त शिक्षा पनि प्रदान गरिरहेको उनले बताए। विद्या भारतीको माध्यमद्वारा नानीहरूले कम्ति शुल्कमा राम्रो शिक्षा प्राप्त गरिरहेका छन् भनी उनले बताए। विद्या भारतीले शैक्षिक र सामाजिक क्षेत्रमा पुऱ्याइरहेको योगदानको सराहना गर्दै उनले भविष्यमा आफ्नो तर्फबाट पनि हुन सक्ने सहयोग गर्ने आश्वासन दिए। यसै गरी, उनले समाजलाई पनि अगाडि आएर सहयोग गर्न आह्वान गरे।

विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले जानकारी गराए अनुसार, कार्यक्रममा विद्यालय सञ्चालन समितिको कार्यकाल पूरा भएकाले पुरानो कमिटी भंग गरेर नयॉं कमिटी गठन गरियो। नयॉं कमिटीमा त्रिलोचन भट्टराई अध्यक्ष र कमल भट्टराई सचिव चयनित भएका छन्। कार्यक्रममा नानीहरूलाई पुरस्कारहरू पनि वितरण गरिएको थियो। विद्या भारती सिक्किमद्वारा पश्चिम सिक्किमको रिदाङमा सञ्चालित सरस्वती शिशु निकेतनमा पनि गत बुधवार वार्षिक परीक्षा परिणाम वितरण कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा विद्या भारती सिक्किमका कार्यालय एवं प्रशिक्षण प्रमुख सूर्य धिताल विशेष रूपमा उपस्थित रहेका थिए।

About Author

Advertisement