कालेबुङ: सम्थार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित छेडुप लामा स्मृति सम्थार गोल्ड कप आमन्त्रणी फूटबल टुर्नामेण्टमा बिहीवार खेलिएको पहिलो राउण्डको अन्तिम म्याच एकतर्फी रह्यो। सम्थार खेल मैदानमा आज भएको म्याचमा सेल्फी डाँड़ा पन्बु फूटबल क्लबले कालेबुङ पुलिसविरुद्ध ६-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट कुञ्जमान थापा एक्लैले ४ गोल गरे। उनले १४औं, ३७औं, ५६औं र ६४औं मिनटमा गोल गरे। यसबाहेक बिशाल छेत्रीले ६१औं र प्रवीण सुब्बाले ३६औं मिनटमा गोल गरे। यसरी कालेबुङ पुलिसबाट रिञ्छेन भूटियाले ७०औं मिनटमा गोल गरे। विजेता टीमका कुञ्जमान थापालाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २३ र २५ अक्टोबरमा हुनेछ। यसरी फाइनल २७ अक्टोबरमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।











