समाजेसेवी एंव शिक्षाविद् हरिप्रसाद छेत्रीको स्मरणमा तीनधारेमा नागरिक श्रध्दाञ्जली कार्यक्रम सम्पन्न

IMG-20230409-WA0193.jpg

खरसाङ: समाजसेवी, राष्ट्रीय शिक्षक सेवा पुरस्कारद्वारा सम्मानित एवं तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको पिता हरिप्रसाद छेत्रीको निधनमा तीनधारेमा नागरिक श्रध्दाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ। साहित्य कला संस्थान तीनधारे र वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको संयुक्त आयोजनामा स्व हरिप्रसाद छेत्रीको स्मरणमा तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न श्रध्दाञ्जली कार्यक्रमको अध्यक्षता साहित्य कला संस्थान तीनधारेको सभापति रञ्जनकुमार रसाईलीको अध्यक्षता र गीतकार सुकुमार बराईलीको सञ्चालनमा सम्पन्न भएको छ। बुध्दिष्ट धर्मानुसार बौध्द धर्म गुरु दावा लामा अनि म्हाणिपा संघ तीनधारेद्वारा पूजा अर्चना गरी थालिएको कार्यक्रममा स्व हरिप्रसाद छेत्रीको निधनमा एक मिनटको मौन धारण गरिएको थियो। कार्यक्रममा बौध्द परम्परा अनुसार 108 वटा बत्ती अर्थात् छिमी बालेर हरिप्रसाद छेत्रीलाई श्रध्दाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा स्व हरिप्रसाद छेत्रीमाथि गीतकार सुकुमार बराईलीद्वारा लिखित एवं बरूण रसाईलीद्वारा स्वरवध्द गरिएको श्रध्दाञ्जली गीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा इशान्त सुब्बा, प्रयास प्रधान, रोहित ब्राह्मण, गौरव ब्राह्मण, नरेन बम्जनले कविता पठन गरेका थिए। कार्यक्रममा स्व हरिप्रसाद छेत्रीको योगदान र उनको विभिन्न पक्षहरू विषयमा वक्तव्य राख्ने क्रममा साहित्य कला संस्थान तीनधारेको पक्षमा मूल सचिव सन्तोष लामा, वरिष्ठ नागरिक कल्याण संगठनको पक्षबाट जेबी गुरुङ, मित्र संघ गोलाई पाखाको तर्फबाट मदनकुमार प्रधान, पिपल्स वेलफेयर सोसाइटी तीनधारेको पक्षमा बिनयकुमार छेत्री र तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको पक्षबाट शिक्षक प्रभारी देबेन्द्र लामाले वक्तव्य राखेका थिए। यस क्रममा मदनकुमार प्रधानले हरि सर धैर्यवान, कर्मनिष्ठ र संघर्षशील व्यक्ति थिए भन्दै उनले समाजको लागि धेरै कार्यहरू गरेको जानकारी गराएका छन्। त्यसरी नै पूर्व शिक्षक एवं हरिप्रसाद छेत्रीको समकालीन जेबी गुरुङले आफुहरूले सँगसँगै गरेको संघर्षको कुराहरू विषयमा जानकारी गराउँदै हरि सरसित बिताएका कुराहरू बताएका थिए। त्यसरी नै पिपल्स वेलफेयर सोसाइटीको सचिव बिनयकुमार छेत्रीले हरिप्रसाद छेत्री सरको नेतृत्वमा नै तीनधारेको पैह्रोको मरमत्ति कार्य भएको र उनी सोसाईटीको अध्यक्ष रहेको बताउँदै तीनधारेमा उनको सालिग निर्माण गर्नु पर्ने सुझाव राखेका थिए। त्यसरी नै परिवार पक्षबाट माइला छोरा एवं तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले वक्तव्य राख्दै सबैलाई धन्यवाद दिएका थिए। कार्यक्रममा साहित्य कला संस्थान तीनधारे, वरिष्ठ नागरिक कल्याण संगठन तीनधारे र तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको पक्षबाट शोक समवेदना पत्र पठन गरेर परिवार पक्षलाई सुम्पिएका थिए। यस क्रममा शोक समवेदना पत्र उत्तम शर्मा, दिपक प्रधान, सुप्रेम छेत्री आदिले पठन गरेका थिए।

कार्यक्रममा तीनधारे कन्या उच्चतर माध्यमिक विद्यालयका शिक्षिकाहरू र विद्यार्थीहरू लगायत तीनधारे क्षेत्रका विभिन्न संघ संस्थाहरू, विभिन्न व्यक्तिहरू उपस्थित थिए। कार्यक्रमको अध्यक्ष एंव साहित्य कला संस्थान तीनधारेको सभापति रञ्जनकुमार रसाईलीले श्रध्दाञ्जली कार्यक्रममा उपस्थित सबैप्रति आभार प्रकट गरेका छन्। स्व हरिप्रसाद छेत्रीको नाममा तीनधारेमा सम्पन्न नागरिक श्रध्दाञ्जली कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै साहित्य कला संस्थान तीनधारेको मूल सचिव सन्तोष लामाले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement