खरसाङ: २८ नम्बर खरसाङ चिमनी देवराली समष्टीको सभासद श्याम शेर्पाको पहलमा यस समष्टीको प्रतिभाशाली तीनजना युवाहरूलाई सम्बर्ध्दना जनाइएको छ। उक्त सम्बर्ध्दना कार्यक्रम खरसाङको वार्ड नम्बर ३ अन्तर्गत अप्पर डुमाराम बस्तीमा सम्पन्न कार्यक्रमलाई वार्ड नम्बर ३ र ४ को ग्राम कल्याण समितिको सभापति डीके प्रधानको अध्यक्षतामा सम्पन्न भयो। क्षेत्रीय सभासद श्याम शेर्पाको पहल र गोपाल छेत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा २८ नम्बरको तीनजना प्रातिभाशाली युवाहरूलाई सम्बर्ध्दना जनाइयो। कार्यक्रममा युवा फिल्म मेकर विवेक राई जसको लघु फिल्म शान्तिलाई कुसेनड्रफमा सम्पन्न अन्तर्राष्ट्रीय फिल्म महोत्सवमा दोस्रो पुरस्कार पाएका थिए। त्यसरी नै कोलकोतामा सम्पन्न वेडिङ केक बनाउने प्रतियोगितामा गोल्ड मेडल विजेता अजन्ता राईलाई सम्बर्ध्दना जनाइएको छ भने यसै समष्टीको प्रगति प्रधानलाई पनि सम्बर्ध्दना जनाइयो जसले नेट परीक्षा उत्तीर्ण गरेकी छन्। कार्यक्रममा तीनैजनालाई अतिथिहरूको बाहुलीबाट खदार्पणसहित फूल गुच्छा र स्मृति चिन्ह्र प्रदान गरी सम्बर्ध्दना जनाइएको छ। कार्यक्रममा भागोप्रमो २८ नम्बर समष्टीको मिडिया प्रभारी भारती लामालाई पनि सम्मान जनाइएको छ। कार्यक्रममा सभासद श्याम शेर्पा, पूर्व नगरपालिका चेयरम्यान समीरदीप ब्लोनले सम्भाषण राखेका थिए भने तीनजना सम्बर्ध्दित युवाहरू क्रमैले विवेक राई, अजन्ता राई र प्रगति प्रधानले पनि आफ्नो वक्तव्य राख्दै आफ्ना अनुभवहरू सेयर गरेका थिए।

कार्यक्रममा खम्बु राई समिति र ग्राम कल्याण समितिलाई पनि स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको थियो। कार्यक्रममा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, पूर्व नगर पार्षदिका डोल्मा जिम्बा, खम्बु राई समितिको सचिव भानु पी राई, नारी शक्ति २८ नम्बर समष्टीको सभापति सुष्मा मुखिया, वार्ड नम्बर ३ र ४ को भागोप्रमो, नारी शक्ति, युवा शक्तिका प्रतिनिधिहरू पनि उपस्थित रहेका थिए। कार्यक्रमको अध्यक्ष डीके प्रधानले यस्तो राम्रो सम्बर्ध्दना कार्यक्रम आयोजना गरेकोमा सभासद श्याम शेर्पा साथै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका छन्।









