सन्त जेभियर्स पाठशालामा कवि गोष्ठी कार्यक्रम

IMG_20220617_231055.jpg

पाकिम। आज चिया कविताले जिल्लामा कविता कार्यक्रम अन्तर्गत पाकिम जिल्लाको निम्ति सन्त जेभियर्स पाठशालामा भव्य कवि गोष्ठी आयोजन गऱ्यो। कार्यक्रममा गान्तोक र पाकिम वरिपरिका कविहरूले कविता वाचन गरेका थिए। नव गठित पाकिम जिल्लाका जिल्लापाल तथा स्थापित कवि टासी छोपेलको तत्परतामा जिल्ला प्रशासनको सहयोगमा आयोजित जिल्लामा कविताको पहिलो सत्र सम्पन्न भयो। कार्यक्रममा विशेष उपस्थितिको रूपमा सन्त जेभियर्स पाठशालाका प्राचार्य फादर फ्रान्सिर ब्यानर्जीले उपस्थित कविहरूलाई स्वागत जनाए भने सहभागि विद्यार्थीहरूलाई साहित्य र भाषाको निम्ति राखिएको यो कार्यक्रमको सार आफ्नो बुझाईलाई गृह कार्यको रूपमा समिक्षा प्रस्तुत गर्ने निर्देशन दिए। यसैगरि जिल्लापाल छोपेलले पाकिम जिल्ला अन्तर्गत विभिन्न ठाउँमा यस्ता साहित्यिक गतिविधिलाई प्राथमिकता दिएर पाठशालाहरूमा शिक्षासितै साहित्यिक, कलाजस्ता विषयमा पनि विद्यार्थी र युवाहरूमा सचेतना फैलाउने उद्देश्यले अन्य स्थान र शैक्षिक संस्थानहरूमा पनि आयोजन गर्ने बताए।
उनले गान्तोकबाट स्थापित साहित्यक गतिविधिलाई अघि बढाइरहेको चिया कवितालाई जिल्लापालले आफ्नो पक्षबाट आभार प्रकट गरे। यसैगरि कार्यक्रममा कविता र कलाबारे आख्यानकार प्रवीण राई जुमेलीले मन्तव्य प्रस्तुत गरेका थिए। उनले विद्यार्थीहरूलाई सम्बोधन गर्दै साहित्य सिर्जना शुरुमा रहरले हुने तर पछि त्यो दायित्वको रूपमा विकास हुँदै जाँदा विकसित साहित्यको रूपमा अघि आउने बताए।
जिल्लामा कविता कार्यक्रममा अमर बानियाँ लोहोरोद्वारा रचित तथा देव कुमार दुमीद्वारा संगीतबद्ध बन्दना देशभक्त गीतहरूको संगालो उपस्थितहरूबीच वितरण गरियो। यसैगरि चिया कविताका संयोजक प्रवीण खालिङले सन्त जेभियर्स पाठशालाको पुस्ताकालयमा चिया कविताको तर्फबाट एक सयवटा पुस्तक प्रदान गर्ने जानकारी दिए। कार्यक्रममा कवि दीपा राई, जिवीका अश्रु, राधा पाण्डे, कविता छेत्री, अमर बानियाँ लोहोरो, अम्बर लाछीकाठी, गोपाल ढकाल, निर्मल गङ्गा, युवा बराल, हेमन्त गौतम, विष्णु केसी, देवकुमार दुमी, जगन दाहाल, प्रवीण खालिङले कविता वाचन गरेका थिए।

About Author

Advertisement