सोनादा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका सन्तमेरिज ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नेतृत्व सदेव तामाङले भारतीय जनता पार्टीप्रति समर्थन जनाउँदै पार्टीमा प्रवेश गरेका छन्। भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला सचिव बिनय प्रसाद र उपाध्यक्ष आरबी लामाले खदा लगाएर पञ्चायत प्रधान सदेव तामाङलाई पार्टीमा स्वागत जनाएका छन्। सोही अवसरमा पत्रकारहरूसँग कुराकानी गर्दै जिल्ला सचिव बिनय प्रसादले भने, ‘भारतीय जनता पार्टी केवल जनताको पार्टी हो। यस दलमा निष्पक्ष र निस्वार्थ भावले काम गर्ने व्यक्तित्वहरूलाई पार्टीले सदैव स्विकार गर्दछ। लोकतन्त्रमा सबैले आफ्नो इच्छाले राजनीति गर्ने अधिकार पाउँछन्। अन्य दलका नेताहरूको भिजन स्पष्ट नहुँदा आज जनता अन्योलमा परेका छन्। भारतीय जनता पार्टीप्रति विश्वास र आस्था राखेर आज धेरै सदस्यहरू पार्टीमा जोडिन आइरहेका छन्। साथै पहाडवासीको हितको निम्ति भारतीय जनता पार्टी सदैव जनताको साथमा रहनेछ।’










