दार्जिलिङ: इण्डियन गोर्खा जनशक्ति फ्रन्ट (आईजीजेएफ)का प्रमुख संयोजक अजय एडवर्ड्सले आफूहरू जीटीएमा अनित थापालाई प्रतिस्थापन गर्न वा सत्ता कब्जा गर्नका लागि नरहेको स्पष्ट पारेका छन्। उनले जीटीएभित्र रहनुको उद्देश्य जनताको आवाज उठाउनु, सार्वजनिक कोषको हिसाब माग्नु तथा जीटीएपछिको सशक्त संवैधानिक राजनीतिक समाधानको बाटो प्रशस्त गर्नु रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत जारी वक्तव्यमा एडवर्ड्सले पश्चिम बङ्गाल सरकारले कानुनी तथा संवैधानिक प्रक्रियाअनुसार जुनसुकै निर्णय लिए पनि त्यसको सम्मान गरिने बताए। यसको साथै सांसद राजु विष्ट तथा मुख्यमन्त्रीसँगको परामर्शलाई समेत सम्मान गरिने उनको भनाइ छ। एडवर्ड्सले जीटीए सभाले जीटीए असफल भएको स्वीकार गर्दै थप शक्तिशाली संवैधानिक राजनीतिक समाधानको मागसहित प्रस्ताव पारित गर्नुपर्ने बताएका छन्। साथै जीटीएको स्थापनाकालदेखि हालसम्म भएका भ्रष्टाचार, वित्तीय अनियमितता तथा सार्वजनिक कोषको दुरुपयोगबारे निष्पक्ष छानबीन हुनुपर्नेमा उनले जोड दिएका छन्। पदबाट राजीनामा दिएर जवाफदेहिताबाट उम्किन नसकिने उनको भनाइ छ। उनले राजनीतिक समाधान र भ्रष्टाचार सम्बन्धी अनुसन्धान प्रक्रियामा सबै निर्वाचित तथा मनोनित सदस्यहरूलाई सरोकारवालाको रूपमा मान्यता दिनुपर्ने बताएका छन्। आईजीजेएफसँग जीटीएभित्र यी मागहरू औपचारिक रूपमा उठाउन पर्याप्त संख्या रहेको दाबी गर्दै एडवर्ड्सले जनतालाई न्यायबाट वञ्चित हुन नदिन पार्टी प्रतिबद्ध रहेको बताएका छन्।उनले भने, ‘हामी अहिले जीटीएमा सत्ता वा कुर्सीका लागि बसेका होइनौं। जनताको आवाज अभिलेखमा दर्ज गर्न,सार्वजनिक धनको हिसाब माग्न तथा जीटीएपछिको राम्रो संवैधानिक राजनीतिक समाधान सुनिश्चित गर्न बसेका हौं।’
एडवर्ड्सले जवाफदेहिता र पारदर्शिताविहीन गोर्खाल्याण्ड आफ्नो परिकल्पनाको राज्य नभएको उल्लेख गर्दै केवल नामको गोर्खाल्याण्ड नभई स्वच्छ,पारदर्शी तथा जनताप्रति उत्तरदायी गोर्खाल्याण्ड निर्माण गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले जीटीएजस्तो असफल संस्थाबाट कुनै पद वा सम्मानको अपेक्षा नरहेको स्पष्ट पार्दै आवश्यक परे जनतामाझ गएर पुनःजनादेश प्राप्त गर्ने बताएका छन्।“हामीलाई कुर्सी होइन,न्याय चाहिएको छ। हामीलाई संवैधानिक समाधान र जनताको प्रत्येक रुपैयाँको हिसाब चाहिएको छ,” एडवर्ड्सले बताएका छन्।










