सिलगढी: सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले सिलगढी ट्राफिक पुलिसले विशेष जाँच अभियान सञ्चालन गरेको छ।
सिलगढीका विभिन्न मुख्य सडक तथा चोकहरूमा सञ्चालित उक्त अभियानअन्तर्गत मादक पदार्थ सेवान गरी सवारी साधन चलाउने (मापसे) चालकहरूमाथि कडा निगरानी राखिनुका साथै चेकजाँच गरिएको छ। यसैगरी, दुई चक्के सवारी चालक तथा पछाडि बस्ने यात्रुले हेलमेट लगाए/नलगाएको अनुगमन गरिएको पुलिसले जनाएको छ।
सडकमा सवारी आवागमनलाई व्यवस्थित बनाउन र सम्भावित दुर्घटना रोक्नका लागि मुख्य–मुख्य स्थानहरूमा ट्राफिक मार्शलहरूसमेत परिचालन गरिएको छ।
सडक सुरक्षा सुनिश्चित गर्न र सर्वसाधारणलाई ट्राफिक नियमप्रति जिम्मेवार बनाउन यस्ता कडाइका साथ अनुगमन र चेकिङ अभियानलाई निरन्तरता दिइने सिलगढी ट्राफिक पुलिसले जनाएको छ।





