सञ्जय उवाच: बूढा नेताको राजनीतिक स्वयम्बर र कार्यकर्ताको तीन बित्ता पलायन!

68f5057a-756a-4aca-88b7-b97d77c57933

देवेन्द्र के ढुङगाना

धृतराष्ट्र उवाच:
हे सञ्जय! के सुन्दैछु म आजकल? मेरो राज्यका पुराना राजनीतिक महारथीहरूलाई देख्नेबित्तिकैi युवाहरू तीन बित्ता पर भाग्न थाले रे! हिजोसम्म नेताको एउटा इसारामा जिन्दावाद र मुर्दावादको शंख फुक्ने कार्यकर्तासमेत आजकल नेताको अनुहार देख्नासाथ बाटो बदल्न थालेछन् रे! आखिर मेरो राजनीतिक हस्तिनापुरमा यस्तो महाविपत्ति कसरी आइपर्‍यो ? कतै विपक्षीले कुनै नयाँ अस्त्र त चलाएनन्?
सञ्जय उवाच:
हे राजन्! विपक्षीले कुनै नयाँ अस्त्र चलाएका होइनन्। नेताहरूका आफ्नै कर्मले यस्तो ब्रह्मास्त्र निर्माण गरेको छ, जसको प्रहारबाट कार्यकर्ता मात्र होइन, वर्षौँदेखि पार्टीको झन्डा बोकेका निष्ठावान् सिपाहीसमेत घाइते भएका छन्।
हजुरका राजनीतिक महारथीहरूले जनताको विश्वासलाई यति पटक धनुषको ताँदोमा राखेर ताने कि अब ताँदो नै चुँडिएको छ। जनताले आशा गर्न छाडे, युवाले भरोसा गर्न छाडे र कार्यकर्ताले नेताको भाषण सुन्ने धैर्यसमेत गुमाउन थालेका छन्।


हे राजन्! अहिले नेपाली राजनीतिमा एउटा अनौठो दृश्य देखिएको छ। पुराना नेताहरू आफूलाई अझै भीष्मपितामह ठानिरहेका छन्,j तर युवाहरू भने उनीहरूको राजनीतिक प्रवचन सुन्नुभन्दा विदेश जाने टिकट काट्नुलाई बुद्धिमानी ठानिरहेका छन्।
धृतराष्ट्र उवाच:
हे सञ्जय! त्यसो भए पार्टीमा बाँकी रहेका मेरा निष्ठावान् कार्यकर्ताहरूले त नेताको रक्षा गरिरहेका होलान् नि? आखिर पार्टीको संगठन भनेकै कार्यकर्ताको बल होइन र?
सञ्जय उवाच :
हे राजन्! हजुरको यो प्रश्नले त मलाई पनि हाँसो उठायो।
पार्टीमा अब निष्ठावान् कार्यकर्ताभन्दा नेताको जयजयकार गर्ने मौसमी भक्तहरूको संख्या बढी देखिन्छ। तर तीमध्ये धेरैको निष्ठा पनि नेताको विचारसँग होइन, अवसर र ओहोदासँग गाँसिएको छ।
अझै एउटा रोचक घटना सुनाउँछु राजन्!
एक दिन एक बबुरा कार्यकर्ताले मलाई आफ्नो दुःखद तर हास्यास्पद अनुभव सुनाउँदै भन्छन्:
‘सञ्जयजी! बाफरे बाफ! मैले त नेपाली राजनीतिमा अनेकौँ चमत्कार देखेको थिएँ, तर यस्तो चमत्कार पहिलोपटक भोगेँ।
एउटा पार्टीका नेताका झोले कार्यकर्ताले मलाई फोन गरेर भेट्न बोलाए। मैले सोचेँ, सायद देशको राजनीतिक अवस्था, पार्टीको भविष्य, संगठनको संकट र युवाहरूको पलायनबारे गम्भीर छलफल होला।
म पनि उत्साहित हुँदै निर्धारित स्थानमा पुगेँ। तर त्यहाँ पुगेपछि पो थाहा भयो, छलफल त पहिल्यै सकिएको रहेछ, निर्णय पनि भइसकेको रहेछ र मेरो राजनीतिकI भविष्यको फैसला पनि मेरो अनुपस्थितिमै भइसकेको रहेछ!
त्यसपछि ती झोले कार्यकर्ताले आफ्ना प्रभुलाई समेत बोलाए। प्रभु पनि दलबलसहित आइपुग्नुभयो। न कुनै परिचय, न कुनै राजनीतिक संवाद, न विचारको आदानप्रदान, न पार्टीको नीति तथा कार्यक्रमबारे छलफल!
एकाएक मेरो निधारमा रातो टीका लगाइयो, घाँटीमा खदा पहिराइयो र दुईचारवटा मोबाइल क्यामेरा तेर्स्याइए।
मैले केही बुझ्न नपाउँदै फेसबुकमा फोटो अपलोड भइसकेको रहेछ।
क्याप्सन थियो, ‘युवा तथा लोकप्रिय व्यक्तित्व आज हाम्रो पार्टीमा प्रवेश गर्नुभएको छ। हार्दिक स्वागत तथा सफल राजनीतिक यात्राको शुभकामना!’
म त तीन छक्क परेँ सञ्जयजी! म पार्टी प्रवेश गर्न आएको थिएँ कि कसैको फेसबुक प्रचार सामग्री बन्न आएको थिएँ, आफैँले छुट्याउन सकिनँ।
अझ अचम्म त के भने, मलाई पार्टीको विधान देखाइएन, घोषणापत्र सुनाइएन, विचार सोधिएन, सदस्यता फाराम भराइएन। तर सामाजिक सञ्जालमा भने म पार्टीको क्रान्तिकारी सिपाही भइसकेको रहेछु!
मैले त मनमनै सोचेँ, वाह! नेपाली राजनीतिमा अब सदस्यता लिन पनि पर्दैन रहेछ, केवल टीका र खदा लगाएपछि राजनीतिक नागरिकता स्वतः जारी हुने रहेछ !’
धृतराष्ट्र उवाच:
हे सञ्जय! यो कस्तो राजनीतिक परम्परा हो ? कुनै व्यक्तिको सहमति नै नलिई पार्टी प्रवेश गराउने ? के यो स्वयम्बर हो, जहाँ दुलहीलाई नसोधी विवाहको लगन निकालिन्छ?
सञ्जय उवाच:
हे राजन्! हजुरले त ठीकै तुलना गर्नुभयो।
तर यहाँ स्वयम्बरमा दुलहीले वर रोज्ने चलन पनि छैन। नेताले आफूलाई मन परेको मान्छे रोज्छन्, कार्यकर्ताले फोटो खिच्छन्, सामाजिक सञ्जालले विवाह सम्पन्न भएको घोषणा गर्छ र सम्बन्धित व्यक्तिले पछि मात्र थाहा पाउँछ— उसको राजनीतिक विवाह त भइसकेछ!
अहिले नेपाली राजनीतिमा पार्टी प्रवेश पनि एउटा अनौठो धन्धा बनेको छ।
यहाँ विचारभन्दा फोटो ठूलो, सिद्धान्तभन्दा टीका ठूलो, संगठनभन्दा फेसबुक पोस्ट ठूलो र कार्यकर्ताको सहमतिभन्दा नेताको प्रचार ठूलो भएको छ।
कुनै व्यक्ति पार्टीमा प्रवेश नगरे पनि प्रवेश गराउन सकिने, छलफल नगरे पनि सहमति भएको देखाउन सकिने र राजनीतिक प्रतिबद्धता नभए पनि लोकप्रिय नेता घोषणा गर्न सकिने अद्भुत लोकतान्त्रिक प्रविधिको विकास भएको छ।
धृतराष्ट्र उवाच :
हे सञ्जय! तर पुराना नेताहरूले त देशमा लोकतन्त्र ल्याउन ठूलो योगदान गरेका छन्। उनीहरूको त्याग, संघर्ष र इतिहासलाई युवाहरूले किन बिर्सन थाले ? के उनीहरूको अनुभवको कुनै मूल्य रहेन ?
सञ्जय उवाच:
हे राजन्! इतिहासको सम्मान हुनु र इतिहासकै नाममा वर्तमानलाई बन्धक बनाउनु दुई फरक कुरा हुन्।
हिजोको योगदान आजीवन राजनीतिक ठेक्का होइन। लोकतन्त्र ल्याएको प्रमाणपत्र देखाएर सधैँ सत्ता, पद र सुविधाको बहीखाता चलाउन पाइँदैन।
युवाहरूले पुराना नेताहरूको इतिहास मेटाउन खोजेका होइनन्, उनीहरू इतिहासको सम्मान गर्दै भविष्यको बाटो खोजिरहेका छन्।
तर नेताहरूको सोच भने अझै पनि त्यही पुरानो राजनीतिक क्यालेन्डरमा अड्किएको छ। हरेक चुनावमा नयाँ सपना बाँड्ने, सरकारमा पुगेपछि पुरानै बहाना दोहोर्‍याउने र असफल भएपछि फेरि जनतालाई धैर्य गर्न उपदेश दिने!
हे राजन्! जनताको धैर्यलाई नेताहरूले राजनीतिक एटीएम सम्झिएका छन्, जसबाट आवश्यक पर्दा विश्वास झिक्न मिल्छ र चुनावपछि फेरि शून्य मौज्दात राखिदिए हुन्छ।
धृतराष्ट्र उवाच:
हे सञ्जय! त्यसो भए यी नेताहरूले आफूहरूको अस्तित्व बचाउन घोषणा गरेका आन्दोलनहरूको अवस्था कस्तो छ ? सडकमा कार्यकर्ता उतारेर फेरि जनताको विश्वास जित्न सक्लान् कि?
सञ्जय उवाच:
हे राजन्! अहिले त आन्दोलन पनि नेताको राजनीतिक आयु लम्ब्याउने भेन्टिलेटरजस्तो हुन थालेको छ।
जनताको वास्तविक मुद्दा समाधान गर्नभन्दा आफ्नो गुम्दै गएको राजनीतिक हैसियत देखाउन आन्दोलन घोषणा गरिन्छ। आन्दोलनको मिति तोकिन्छ, विज्ञप्ति निस्कन्छ, मञ्च सजाइन्छ, माइक जडान हुन्छ र नेताहरूले क्रान्तिको नयाँ अध्याय सुरु भएको घोषणा गर्छन्।
तर सडकमा उत्रिने कार्यकर्ता कहाँ छन् भनेर खोज्दा कतै टिकटको प्रतीक्षामा, कतै पदको आशामा र कतै नेताको व्यवहारबाट निराश भएर घरमै बसेका भेटिन्छन्।
नेताहरूले आन्दोलनलाई जनताको आवाज ठान्छन्, तर जनताले त्यसलाई नेताको व्यक्तिगत राजनीतिक बीमा पोलिसीका रूपमा बुझ्न थालेका छन्।
कार्यकर्ता भन्छन्, ‘हामीले पटकपटक नेताको कुर्सी जोगाउन सडकमा ढुंगा खायौँ, लाठी खायौँ, मुद्दा खेप्यौँ। तर हाम्रा छोराछोरीको भविष्य, रोजगारी र सम्मानको कुरा गर्दा नेताहरूको कानमा किन तेल पग्लिन्छ?’
अब यस्तो अवस्थामा नेताहरूले स्वघोषित आन्दोलनको बिगुल फुकेर मात्र कार्यकर्ता सडकमा ओर्लिने दिन गए, राजन् !
धृतराष्ट्र उवाच:
हे सञ्जय ! त्यसो भए नेपाली राजनीतिको भविष्य के होला ? पुराना महारथीहरूको राज्य समाप्त हुने हो कि नयाँ पुस्ताले हस्तिनापुरको सिंहासन कब्जा गर्ने हो?
सञ्जय उवाच:
हे राजन्! भविष्यको युद्ध अझै बाँकी छ। तर यसपटक युद्धको मैदानमा केवल पार्टीका झन्डा र नेताका भाषणले काम गर्नेवाला छैन।
अब जनताले खोजेको नेतृत्व भनेको टीका र खदा लगाएर फेसबुकमा फोटो खिचाउने होइन, जनताको पीडा बुझेर काम गर्ने नेतृत्व हो।
युवाहरूलाई पार्टी प्रवेशको नाटक होइन, निर्णय प्रक्रियामा वास्तविक सहभागिता चाहिएको छ। कार्यकर्तालाई नेताको झोला बोक्ने अवसर होइन, आत्मसम्मानसहित राजनीति गर्ने वातावरण चाहिएको छ। देशलाई भाषणका महारथी होइन, परिणाम दिन सक्ने नेतृत्व चाहिएको छ।
हे राजन् ! अन्त्यमा एउटा कुरा स्पष्ट सुनिबक्सियोस्-
नेताहरू अझै पनि आफूलाई पार्टीको पर्यायवाची ठानिरहेका छन्। उनीहरूलाई लाग्छ, आफू रहे पार्टी रहन्छ, आफू बोले जनता ताली बजाउँछन् र आफूले आन्दोलन घोषणा गरे देशै ठप्प हुन्छ।
तर राजनीतिक कुरुक्षेत्रको वास्तविक दृश्य अर्कै छ।
युवा पुस्ता पुराना राजनीतिक अनुहार देखेर तीन बित्ता टाढा भागिरहेको छ। पुराना कार्यकर्ता मनमनै पार्टीबाट अवकाश लिने सोचमा छन्। नयाँ पुस्ता पुरानै राजनीतिक पसलको सटर खोल्न तयार छैन।
अनि केही नेताहरू भने आफूले आफैँलाई क्रान्तिकारी घोषणा गर्दै, आफैँले आन्दोलनको बिगुल फुक्दै र आफैँले आफ्नो राजनीतिक लोकप्रियताको प्रमाणपत्र बाँड्दै हिँडिरहेका छन्।
त्यसैले हे राजन् ! अहिलेको नेपाली राजनीतिमा सबैभन्दा ठूलो चक्रव्यूह विपक्षीले रचेको होइन, नेताहरूले आफ्नै वरिपरि आफैँले रचेका हुन्। फरक यति हो— अभिमन्यु चक्रव्यूहमा फसेर वीरगति प्राप्त गरे, तर यी राजनीतिक महारथीहरू आफ्नै चक्रव्यूहमा फसेर पनि आफूलाई विजेता घोषणा गर्न छाड्दैनन् !
इति श्री कुर्सीपुराणे, टीकाखदाखण्डे, स्वघोषित आन्दोलनप्रसङ्गे, कार्यकर्ता पलायन अध्यायः समाप्तम् !

About Author

Advertisement