डोनबासको बदलामा युक्रेनलाई ननटोको सदस्यता

883f7cd9-8bb9-48a8-b5c6-ea66d2aa88e7

अमेरिकाले ल्यायो नयाँ शान्ति प्रस्ताव, के पुतिन सहमत होलान्?

वासिङ्टन: रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न अमेरिकाले नयाँ प्रस्ताव अघि सारेको छ। यस प्रस्तावअनुसार युक्रेनलाई उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्यता दिने बदलामा पूर्वी डोनबास क्षेत्रबाट पछि हट्न सक्ने विकल्प सुझाइएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस प्रस्तावबारे जानकारी दिएका हुन्।
जेलेन्स्कीका अनुसार, हालै संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा भएको शान्तिवार्ताका क्रममा यो प्रस्ताव अघि सारिएको थियो। उक्त बैठकमा अमेरिका, युक्रेन र रुसका प्रतिनिधिहरूले युद्ध अन्त्य गर्ने सम्भावनाबारे छलफल गरेका थिए।
अमेरिकाले पहिलोपटक अघि सार्‍यो यस्तो प्रस्ताव
जेलेन्स्कीले बताएअनुसार, यो पहिलोपटक हो, जब वासिङ्टनले युक्रेनलाई नेटोको सदस्यता दिने बदलामा डोनबास क्षेत्रबाट पछि हट्ने विषयमा प्रश्न उठाएको छ।
सञ्चारमाध्यमसँग कुरा गर्दै जेलेन्स्कीले भने, “अमेरिकीहरूले एउटा प्रश्न उठाए- यदि युक्रेन नेटोको सदस्य बन्छ भने के युक्रेन डोनबासबाट पछि हट्न तयार हुन्छ? पहिलोपटक यस्तो प्रश्न उठाइएको हो।”
युक्रेनी राष्ट्रपतिका अनुसार, यस विषयमा उनको सरकारले नेटो र युरोपेली सङ्घसँग छलफल गरिरहेको छ। पश्चिमी देशहरूको सहमति प्राप्त भएपछि मात्रै उनले यो प्रस्ताव युक्रेनका जनतासामु प्रस्तुत गर्नेछन्।
यद्यपि, उनले कुनै सम्झौतामा पुग्न सहज नहुने स्वीकार गरेका छन्। किनभने रुसी राष्ट्रपति भ्लादिमिर पुतिन लामो समयदेखि युक्रेनको नेटो सदस्यताको विरोध गर्दै आएका छन्।
जेलेन्स्कीले यस्तो महत्त्वपूर्ण निर्णयमा जनताको मतलाई प्राथमिकता दिइने स्पष्ट पारेका छन्। उनले भने, “म आफ्ना देशका जनतालाई सोध्नेछु– उनीहरू के सोच्छन्? हामीले यो प्रस्ताव स्वीकार गर्नुपर्छ कि पर्दैन? यो निर्णय एक्लै गर्ने अधिकार मलाई छैन।”
युक्रेनको नाटो सदस्यताको विरोध किन गर्छन् पुतिन?
रुसी राष्ट्रपति भ्लादिमिर पुतिन सुरुदेखि नै युक्रेन नाटोमा सामेल हुने विषयको विरोध गर्दै आएका छन्। उनको दाबी छ कि युक्रेन नेटोको सदस्य बनेमा त्यो रुसको राष्ट्रिय सुरक्षाका लागि खतरा बन्न सक्छ।
युक्रेनविरुद्ध रुसले गरेको सैन्य कारबाहीका कारणहरूमध्ये नाटोको पूर्वतर्फ विस्तार र युक्रेनको सम्भावित सदस्यता पनि प्रमुख विषयका रूपमा मस्कोले उठाउँदै आएको छ।
यस्तो अवस्थामा अमेरिकाले युक्रेनलाई नाटोको सदस्यता दिने प्रस्ताव अघि बढाएमा त्यसमा रुसको सहमति जुटाउनु ठूलो चुनौती बन्न सक्छ।
डोनबास छोड्न तयार छैन युक्रेन
जेलेन्स्कीले युक्रेन आफ्नो कुनै पनि भूभाग छोड्ने पक्षमा नरहेको पुनः स्पष्ट पारेका छन्। तर, व्यापक शान्ति सम्झौताअन्तर्गत युक्रेनको सुरक्षाको ठोस प्रत्याभूति प्राप्त भएमा यो प्रस्ताव जनमतसङ्ग्रहमार्फत जनतासामु लैजान सकिने सङ्केत दिएका छन्।
उनका अनुसार, युरोपेली सङ्घ र नाटो युरोपको सुरक्षा व्यवस्थाका महत्त्वपूर्ण आधार हुन्। त्यसैले कुनै पनि शान्ति सम्झौतामा युक्रेनको भविष्यको सुरक्षा सुनिश्चित गर्नु अत्यन्त आवश्यक छ।
जेलेन्स्कीले यो प्रस्ताव सार्वजनिक गरेर अहिलेसम्म लगभग असम्भव मानिएको विषयमा पुनः बहस सुरु गर्न खोजेको पनि आकलन गरिएको छ। यद्यपि, यस प्रस्तावप्रति युक्रेनका जनता, पश्चिमी देशहरू र रुसको प्रतिक्रिया महत्त्वपूर्ण हुनेछ।
के हो डोनबास क्षेत्र र किन छ विवाद?
डोनबास युक्रेनको पूर्वी भागमा अवस्थित महत्त्वपूर्ण औद्योगिक तथा खनिज सम्पदाले सम्पन्न क्षेत्र हो। मुख्य रूपमा डोनेट्स्क र लुहान्स्क गरी दुई क्षेत्र मिलेर डोनबास बनेको छ।
रुस र युक्रेनबीच जारी युद्धका क्रममा रुसी सेनाले यी दुवै क्षेत्रका ठूलो भूभागमा नियन्त्रण कायम गरेको छ। यद्यपि, केही क्षेत्रमा अझै पनि युक्रेनको नियन्त्रण रहेको छ।
रुसको माग छ कि डोनेट्स्क र लुहान्स्कका जुन भूभागमा अझै युक्रेनको नियन्त्रण छ, त्यहाँबाट पनि किभले आफ्ना सेना फिर्ता बोलाउनुपर्छ। अर्कोतर्फ, युक्रेन यी क्षेत्रलाई आफ्नो सार्वभौम भूभाग मान्छ र छोड्न तयार छैन।
रुसको अडान छ कि आफ्ना सर्तअनुसार अन्तिम सम्झौता नभएसम्म युद्धविरामको सम्भावना सीमित रहनेछ।
शान्ति सम्झौताको बाटोमा सबैभन्दा ठूलो चुनौती
अमेरिकाको नयाँ प्रस्तावले रुस–युक्रेन शान्तिवार्तामा नयाँ विषय थपेको छ। एकातिर युक्रेन आफ्नो भूभागको अखण्डता र सुरक्षाको प्रत्याभूति चाहन्छ भने अर्कोतिर रुस डोनबासमाथि आफ्नो नियन्त्रण कायम राख्न चाहन्छ।
अब सबैभन्दा ठूलो प्रश्न यो छ कि के रुस युक्रेनको नेटो सदस्यतासम्बन्धी कुनै व्यवस्थामा सहमत होला? साथै, आफ्नो भूभागबाट पछि हट्ने बदलामा सुरक्षा प्रत्याभूति प्राप्त गर्ने यो प्रस्तावलाई युक्रेनका जनताले समर्थन गर्लान् कि नगर्लान् भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण छ।
हालसम्म यस प्रस्तावबारे कुनै अन्तिम सहमति भएको घोषणा गरिएको छैन। त्यसैले रुस, युक्रेन र अमेरिकाको आगामी कदममै शान्तिवार्ताको भविष्य निर्भर रहनेछ।

About Author

Advertisement