सोलु: सगरमाथा राष्ट्रिय निकुञ्जको कोरक्षेत्रभित्र निजी घोडाधनीहरूले घरपालुवा घोडाहरू पर्यटक बोक्ने प्रयोजनाका लागि प्रयोग गरिरहेको पाइएको छ।
निकुञ्जको अनुमतिबिना घरपालुवा घोडाहरू हिँड्डुल गराउने, चराउने, बास राख्ने जस्ता क्रियाकलाप गरिएको भन्दै सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले सात दिनभित्रमा निकुञ्जको कोरक्षेत्र भन्दा बाहिर लैजान भनेको छ।
निकुञ्जको लार्चादोभान, लोबुचे, धुक्ला, गोरक्क्षेप जस्ता अति संवेदनशील भौगोलिक अवस्था भएको क्षेत्रमा घोडाहरूको अनावश्यक हिँड्डुल, चरिचरण जस्ता क्रियाकलापले सो क्षेत्रको संवेदनशील पारिस्थितिकीय प्रणाली, वन्यजन्तु तथा वनस्पतीमा नकारात्मक असर पर्ने कार्यालयको भनाइ छ।
‘तोकिएको मिति भित्रमा घोडाधनीहरूले आफ्ना घोडाहरू निकुञ्जको कोरक्षेत्रभन्दा बाहिर लगेको नपाइए राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन १९७४, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली १९७१, हिमाली राष्ट्रिय निकुञ्ज नियमावली, १९७८ तथा अन्य प्रचलित कानून अनुसार भई जाने व्यहोरा समेत जानकारी गराइन्छ,’ कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।










