संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा सुधारको माग तीव्र:

6052251_125_0_2856_2048_1920x0_80_0_0_cf659fad6e58ca626a358e73f3b06a5c

१९४५ को ढाँचाले आजको विश्व चल्दैन’, भारतद्वारा स्थायी र अस्थायी दुवै श्रेणी विस्तार गर्न आग्रह

​नयाँ दिल्ली/न्युयोर्क: संयुक्त राष्ट्रसङ्घका लागि भारतीय स्थायी नियोगकी कार्यवाहक प्रमुख (चार्ज डी अफेयर्स) योजना पटेलले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद् (यूएनएससि) को संरचनामा तत्काल सुधार आवश्यक रहेको बताएकी छन्। सुरक्षा परिषद्को कार्यसम्पादन पद्धतिबारे आयोजित वार्षिक खुला बहसमा बोल्दै उनले सन् १९४५ मा स्थापित प्रणालीले ८० वर्षपछिको वर्तमान विश्वका जटिल चुनौतीहरू समाधान गर्न नसक्ने स्पष्ट पारिन्। सदस्य राष्ट्रहरूका नागरिकले सुरक्षा परिषद्को विश्वसनीयता र प्रभावकारितामाथि प्रश्न उठाइरहेको उल्लेख गर्दै उनले विश्वका विभिन्‍न क्षेत्रमा जारी द्वन्द्व रोक्न यो संस्था असफल हुनु नै यसको मुख्य कारण भएको बताइन्।
​पटेलले सुरक्षा परिषद्को स्थायी र अस्थायी दुवै श्रेणीमा विस्तार हुनुपर्ने भारतको अडान दोहोर्‍याइन्। विशेष गरी विकासोन्मुख देशहरू (ग्लोबल साउथ) लाई यसमा उचित प्रतिनिधित्व दिनुपर्ने र स्पष्ट समयसीमा तोकेर लिखित वार्ता अघि बढाउनुपर्नेमा उनले जोड दिइन्। दुई वर्षका लागि चुनिएका अस्थायी सदस्यहरूलाई ऐतिहासिक कागजात र तथ्यांकमा सहज पहुँच हुनुपर्ने भन्दै उनले पारदर्शिताको माग राखिन्। सुरक्षा परिषद्लाई संकीर्ण राजनीतिक स्वार्थ पूरा गर्ने थलो बनाइनु नहुने बताउँदै उनले सदस्यता, क्षेत्रीय प्रतिनिधित्व र भिटो अधिकारजस्ता गम्भीर विषयहरूलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरिन्।

About Author

Advertisement