संयुक्त जनअधिकार मोर्चाको ‘लोक समाध यात्रा’ झापाबाट सुरु, हुलाकी मार्ग हुँदै कञ्चनपुरसम्म पुग्ने

IMG-20261025-WA0072

देवेन्द्र के ढुंगाना

झापा: उत्पीडित जनताका दबाइएका आवाज बुलन्द गर्न र छरिएका आन्दोलनलाई एकताबद्ध गर्ने उद्देश्यका साथ संयुक्त जन अधिकार मोर्चा, नेपाल केन्द्रीय समितिको आयोजनामा ‘लोक समाध यात्रा’- जनसन्देश यात्रा आज आइतबारदेखि झापाबाट सुरु भएको छ।
झापा जिल्लाको गौरादह नगरपालिका स्थित जुरोपानी बजारमा आम सभा गरी यात्राको शुभारम्भ गरिएको हो।  यसअघि गौरादह नगरपालिका-८ पुलचोकस्थित शिवालय मन्दिर प्राङ्गणबाट २५१ घण्टे पैदल यात्राको रूपमा परिकल्पना गरिएको यस अभियानलाई केन्द्रीय समितिले नेतृत्व गर्दै २४ दिने ‘लोक समाध यात्रा’ को रूपमा अघि बढाएको हो। २४ दिनसम्म सञ्चालन हुने यो यात्रा हुलाकी राजमार्ग हुँदै २४ जिल्ला पार गर्दै महाकालीको कञ्चनपुरसम्म पुग्नेछ।
यात्रामा मोर्चाअन्तर्गतका ४ वटा मुख्य जनसंगठनको सहभागिता रहेको छ:

१. मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन, नेपाल

२. लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान-मजदुर आन्दोलन, नेपाल

३. भूमि अधिकार आन्दोलन, नेपाल

४. पिपुल्स फोर्स, नेपाल


कार्यक्रममा आन्दोलन नेपाल झापा जिल्लाका अध्यक्ष मानबहादुर लिम्बुको अध्यक्षता, लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समूह झापाका अध्यक्ष देवीप्रसाद भण्डारी लगायतको उपस्थिति थियो। केन्द्रीय स्तरबाट आन्दोलन नेपालका केन्द्रीय अध्यक्ष निर्गुणराज जैसी , केन्द्रीय संरक्षक शिव तिवारी, केन्द्रीय इन्चार्ज सुरेश सिम्खडा, केन्द्रीय महासचिव हेमराज दाहाल लगायत नेताहरुको सहभागिता रहेको छ।
लोक समाध यात्रा के हो?
आयोजकका अनुसार ‘लोक समाध यात्रा’ उत्पीडित जनताका दबाइएका आवाज, ओझेलमा परेका मुद्दा, अधुरा माग र न्यायका लागि भइरहेका संघर्षलाई जनस्तरसम्म पुगेर बुझ्ने, बुझाउने र परिवर्तनका लागि साझा पहल निर्माण गर्ने संवाद यात्रा हो।
किसान, मजदुर, भूमिहीन, सुकुम्बासी, मिटरब्याज, लघुवित्तीय शोषण, पर्यावरण संकट, पहिचान आन्दोलन, महिला, दलित, युवा तथा सीमान्तकृत समुदायका वास्तविक समस्या र मागलाई साझा सामाजिक-राजनीतिक मुद्दाका रूपमा स्थापित गर्नु यसको केन्द्रीय उद्देश्य हो।
यात्राको उद्देश्य र मर्म
यस यात्राले जनताका वास्तविक समस्या, तिनका सामाजिक-आर्थिक कारण र विद्यमान संरचनागत जटिलताको पहिचान गर्दै राज्यसत्ताले समाधान गर्न नसकेका वा गर्न नचाहेका समस्याको वास्तविकता उजागर गर्ने लक्ष्य लिएको छ।
यसले विभिन्न आन्दोलनबीच आपसी विश्वास, सहकार्य र संगठनात्मक एकता विकास गर्दै जनताको नेतृत्व र सहभागिता अभिवृद्धि गर्ने र राज्यसत्तालाई जनताका मागप्रति जवाफदेही बनाउन जनदबाब सिर्जना गर्ने लक्ष्य राखेको छ। मोर्चाको भनाइमा ‘मुद्दा बुझ्ने, बुझाउने र बदल्ने’ प्रक्रियामार्फत उत्पीडित जनताका आन्दोलनलाई एकताबद्ध गरी संगठित प्रतिरोध संघर्ष अघि बढाउनु यसको मूल प्रतिबद्धता हो। छरिएका मुद्दालाई साझा आन्दोलन र आन्दोलनलाई संगठित प्रतिरोधसँग जोड्नु नै यसको मूल मर्म हो।
यात्राका प्रमुख कार्यक्रम
क) जनसंगठनहरूको संयुक्त बैठकमार्फत साझा मुद्दा, अनुभव र कार्यदिशाबारे छलफल तथा समन्वय गर्ने।
ख) मिटरब्याज, लघुवित्तीय शोषण, भूमि अधिकार, सुकुम्बासी समस्या तथा अन्य सामाजिक न्यायका आन्दोलनसँग संवाद गरी सहकार्यका सम्भावना खोज्ने।
ग) लेखक, पत्रकार, बुद्धिजीवी र राजनीतिक नेतृत्वसँग संवाद गरी जनताका मुद्दालाई सार्वजनिक बहसमा ल्याउने।
घ) समकालीन आन्दोलन तथा नागरिक अधिकार अभियानसँग संवाद गरी एकता र सामूहिक संघर्षका आधार निर्माण गर्ने।
उत्पीडित जनताका आवाजलाई बुलन्द गर्न आयोजित यात्रामा सहभागी हुन किसान, मजदुर, भूमिहीन, सुकुम्बासी, युवा, महिला, दलित, बुद्धिजीवी, अधिकारकर्मी तथा सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई मोर्चाले हार्दिक अपिल गरेको छ। साथै विद्यमान राज्यसत्ताले समाधान गर्न नसकेका वर्गीय न्यायका सम्पूर्ण मुद्दाहरूको दिगो समाधान खोज्न मोर्चा निरन्तर आन्दोलनमा रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

About Author

Advertisement