विजेतालाई ११ लाख को पुरष्कार
झापा: नेपालकै प्रतिष्ठित र लोकप्रिय महिला फुटबल प्रतियोगिता बनाउने उद्देश्यले आयोजना हुँदै आएको झापा महिला गोल्डकपको दोस्रो संस्करण यही नवंबर २1देखि २८ सम्म हुने भएको छ।
नवनिर्मित दुधे रंगशाला, शिवसताक्षीमा हुने प्रतियोगिताको दोस्रो संस्करण घोषणा गर्दै आयोजकले सोमबार प्रेस विज्ञप्ति जारी गरेको हो।
काठमाडौं बाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रूपमा रहेको झापालाई महिला फुटबलको हबको रूपमा विकसित गराउने लक्ष्यका साथ प्रतियोगितालाई निरन्तरता दिइएको अध्यक्ष सन्तोष थोप्रा लिम्बुले जानकारी दिनुभयो।
पुरस्कार राशी र टिम सहभागिता
प्रतियोगिताको विजेताले नेपालमै महिला फुटबलतर्फ सर्वाधिक राशी ११ लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै बेस्ट भ्यालुएबल प्लेयरले १ लाख ५० हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँ पाउनेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ।
प्रतियोगितामा नेपालका तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल एपीएफ र नेपाल पुलिस क्लबका महिला टिमको सहभागिता टुंगो लागिसकेको छ। एक टिम भारत, एक टिम भुटान तथा बाँकी दुई टिम नेपालका ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्नेछन्।
सामाजिक उत्तरदायित्व
महिला खेलाडीलाई प्रोत्साहन गर्दै झापामा महिला खेलाडी उत्पादनमा टेवा पुर्याउने र ग्रासरुटबाटै निरन्तर प्रशिक्षणका लागि पहल गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ। त्यसका लागि दुधे रंगशालाको स्तरोन्नति धमाधम भइरहेको छ। बाँसको अस्थायी प्यारापिट निर्माण, खेलमैदानको स्तरोन्नति कार्य तीव्र रुपमा भइरहेको छ।
प्रतियोगिता सञ्चालनका लागि एक करोड २५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। टिकट बिक्रीबापत प्रत्येक टिकटको १० रुपैयाँ आदिवासी नेत्रहीन संघ र अटिजम भएका बालबालिका अध्ययन गर्ने एक विद्यालयलाई प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितालाई शानदार ढंगले सफल बनाउन झापाली उद्योगी, व्यवसायी, खेलप्रेमी, पत्रकार र मिडिया हाउसहरूको भूमिका महत्वपूर्ण रहने भएकाले सबैको साथ र सहयोगका लागि आयोजकले अपिल गरेको छ।
प्रतियोगिताको संरक्षकमा नगरप्रमुख मेगाहाङ थोप्रासहित शिवसताक्षीका जनप्रतिनिधिहरू रहनुभएको छ। प्रतियोगिता सञ्चालनका लागि खेलकुद पत्रकार हिमाल खरेलको नेतृत्वमा सचिवालय निर्माण गरिएको छ।





