श्रीलंकाविरुद्ध पहिलो टेस्ट म्याचमा भारतको १६५ रनले जीत

IMG-20260819-WA0182

गाल: भारतले पहिलो क्रिकेट टेस्ट म्याचमा श्रीलंकालाई १६५ रनले पराजित गऱ्यो। यस जीतको साथ भारतले २ वटा टेस्ट म्याचको सीरीजमा १-०-को अजेय बढ़त पनि हासिल गऱ्यो। म्याच जित्न हासिल भएको ३७२ रनको कठिन लक्ष्यलाई पीछा गर्दै बुधवार म्याचको पाँचौं तथा अन्तिम दिन श्रीलंकाको दोस्रो ईनिंग्स २०६ रनमा समाप्त भयो। यो ६००औं टेस्ट म्याचमा भारतको ऐतिहासिक जीत हो। श्रीलंकाको दोस्रो ईनिंग्सलाई झटपट समेट्नमा देब्रे हातका स्पिनर मानव सुथारको महत्त्वूपर्ण योगदान रह्यो, जसले ६ विकेट हासिल गरे। पहिलो ईनिंग्समा पनि ४ विकेट लिएका हुनाले सुथारले आफ्नो टेस्ट करियरमा पहिलोपल्ट म्याचमा १० विकेट हासिल गरे। श्रीलंकाको दोस्रो ईनिंग्समा सुथार बाहेक प्रसिद्ध कृष्णाले २ विकेट लिए। भारतको यस जीतमा मध्यक्रमका ब्याटर देवदत्त पडिक्कलको पनि महत्त्वपूर्ण योगदान रह्यो, जसले भारतको पहिलो ईनिंग्समा १६७ र दोस्रो ईनिंग्समा ४४ रन बनाए। सीरीजको दोस्रो तथा अन्तिम टेस्ट म्याच २३ अगस्तदेखि कोलम्बोमा खेलिनेछ।
म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै भारतले आफ्नो पहिलो ईनिंग्समा ४६२ रन बनाएको थियो। त्यसपछि श्रीलंका २८४ रनमा अलआउट हुँदा शुभमन गिलको कप्तानीमा रहने टोलीलाई पहिलो ईनिंग्सको आधारमा १७८ रनको महत्त्वपूर्ण बढ़त हासिल भएको थियो। त्यसपछि भारतले आफ्नो दोस्रो ईनिंग्समा १९३ रन बनाउँदा आयोजक श्रीलंकालाई म्याच जित्न ३७२ रन बनाउने लक्ष्य हासिल भएको थियो। श्रीलंकाको मंगलवार खेल समाप्त हुँदासम्म ४ विकेटमा ८४ रन बनाएको थियो। यसरी भारतलाई म्याच जित्न थप ६ विकेट लिने आवश्यकता थियो। भारतले आज दोस्रो सत्रको खेलमा श्रीलंकाको दोस्रो ईनिंग्सलाई समेटेर जीत हासिल गऱ्यो। श्रीलंकाको दोस्रो ईनिंग्समा सोनाल दिनुशा र कप्तान धनञ्जय डी सिल्वाले टोलीलाई बचाउने सक्दो प्रयास गरे। यी दुईजनाले पाँचौं विकेटको निम्ति ९५ रनको पार्टनरशीप गरे। आज बिहानको सत्रमा रवीन्द्र जडेजाले धनञ्जयलाई आउट गरी यस पार्टनरशीपलाई तोड़े। श्रीलंकाई कप्तानले १५१ बल खेलेर ७ वटा चौकाको सहायताले ५९ रन बनाए। श्रीलंकाको पहिलो ईनिंग्समा १०० रन बनाउने दिनुशाले दोस्रो ईनिंग्समा पनि उत्कृष्ट ब्याटिंग गर्दै भारतीय बलरहरूको परीक्षा लिए। उनले निरोशन डिकवेला (१०) र केशरा नुवान्था (२० रन)-सँग मिलेर स्कोरलाई १९९ रनसम्म पुऱ्याए। धैर्यको साथ खेलिरहेका दिनुषा अन्तमा गएर सुथारको शिकार बने। उनले १२८ बलको सामना गरी ८ वटा चौका र एउटा छक्काको सहायताले ८४ रन बनाए। दिनुशा आउट भएपछि श्रीलंकाको तल्लो क्रमलाई सुथारले स्वाहा पारे। प्रतिकूल परिस्थितिमा धैर्यको साथ खेल्दै म्याचमा जम्मा २११ रन बनाउने भारतीय ब्याटर पडिक्कललाई प्लेयर अफ द म्याच चयन गरियो।

About Author

Advertisement