शुभ-अशुभ कार्यमा ताम्बा गान्बा अनि लामाको भूमिका विषयमा सम्मेलन सम्पन्न

IMG_20221126_225449.jpg

नाम्ची: नाम्चीको आहालेस्थित दिछेन छयोलिङ गुम्पाको सम्मेलन कक्षमा आज शुभ-अशुभ कार्यमा ताम्बा गान्बा अनि लामाको भूमिका विषयमा सम्मेलन सम्पन्न भयो। नाम्ची तामाङ गान्बा गेदुङले आयोजना गरेका यस सम्मेलनको अध्यक्षता गान्बा एमएस तामाङले गरेका थिए। कार्यक्रममा सम्मेलनको औचित्य विषय आयोजक समितिका सल्लाहकार नर्बु डुम्जनले प्रकाश पारेका थिए।

उल्लेखनीय छ, सम्मेलनमा मृतकको ह्इबा (अस्तु) ल्याउनु पर्ने कि नपर्ने, घेवा थाल्नु अघि ताम्बाको बखान राख्नु पर्ने कि नपर्ने, मिन ज्याङ प्रात्छीमा ताम्बाको बखान हुनु पर्ने कि नपर्ने र घेवा कति दिनभित्र गर्दा राम्रो हुन्छ भन्ने विषयमा विस्तृत रूपमा छलभल गरिएको थियो। छलफल गरिएअनुसार मृतकको ह्इवा (अस्तु) ल्याउनु पर्ने, घेवा थाल्नु अघि र मिन ज्याङ प्रात्छीमा ताम्बाको बखान राख्नुपर्ने अनि घेवा भरसक ४९ दिनमा गरिएको नै राम्रो रहेको निर्णय गरियो।

सम्मेलनमा आयोजक समितिका सहसचिव सागर मोक्तानले प्रस्तावहरू पठन गरेका थिए। आयोजक समितिका जीडी बम्जनले सञ्चालन गरेको यस सम्मेलनको स्वागत भाषण सचिव दिलिप तामाङ र धन्यवाद ज्ञापन सल्लाहकार केबी बम्जनले दिएका थिए। यस सम्मेलनमा नाम्ची जिल्लाका नौंवटा तामाङ गुम्पाका लामा गुरूजन, ताम्बागण, गान्बागण आदिको उपस्थिति रहेको थियो।

About Author

Advertisement