सोनादा: दार्जिलिङ जिल्ला पुलिस अधीक्षक प्रतिक्षा झारखिया लगायत वरिष्ठ पुलिस प्रशासनले सोनादा क्षेत्रमा रहेका पुलिङ बुथहरुको निरीक्षण भ्रमण गरिएको छ। जनतालाई डररहित शान्तिपूर्ण तरिकाले मतदान गर्न सकोस् भनेर जिल्ला पुलिस अधीक्षक प्रतिक्षा झारखिया, डीवाईएसपी दार्जिलिङ टाउन, सदर सीआई पार्थ चन्द्र, जोरबंगलो पुलिस थानाको ओसी अनुप कुमार बैद्य, सोनादा पुलिस आउट पोष्टको ओसी बिबेक छेत्री आदिले सोनादा क्षेत्रमा शान्तिपूर्ण चुनाव गराउन हेतु सोनादा क्षेत्रमा रहेका पुलिङ बुथहरुको निरीक्षण गरेका छन्। यस टोलीमा एडीएम दार्जिलिङ, सुके पोखरी खण्ड विकास अधिकारी अर्घ्य गूह पनि उपस्थित रहेका थिए। यसपालीको चुनावमा मतदाताहरुले शान्तिपूर्ण अनि भयमुक्त वातावरणमा मतदान सुनिश्चित गर्नलाई जिल्ला पुलिस अधीक्षक प्रतिक्षा झारखियाले सोनादा क्षेत्रको भ्रमण गरेको जानकारी प्राप्त भएको छ। उनले पुलिङ बुथहरु साथै सोनादा क्षेत्रका स्थानीय मतदाताहरुलाई पनि भेट गरेर कुनै पनि डरबिना, कसैको दबाबमा नआई र शान्तिपूर्ण तरिकाले मतदान गराउनलाई कुराकानी पनि गरेकी छन्। उनले यस अवसरमा सोनादा होलि क्रस उच्चत्तर माध्यमिक विद्यालय, सोनादा डिग्री कलेज लगायत अन्य पुलिङ बुथहरुको निरीक्षण गरेकी छन्। यस भ्रमणलाई लिएर सोनादामा पत्रकारहरुलाई सम्बोधन गर्दै दार्जिलिङ जिल्ला पुलिस अधीक्षक प्रतिक्षा झारखियाले चुनाव आयोगले जारी गरेको आठवटा गाइडलाइन अनुसार शान्तिपूर्ण चुनाव गराउन आज सोनादा क्षेत्रमा रहेका पुलिङ बुथहरुको निरीक्षण भ्रमण गरिएको जानकारी गराइन्। उनले पहाडमा शान्तिपूर्ण मतदान गराउन साथै कसैको कुनै दवाबबिना नै मतदान सुनिश्चित गर्न साथै कुनै बुथ क्याप्चरबिना साथै कुनै नक्कली मतदान बिना नै चुनाव सफलतापूर्वक सम्पन्न गराउन पहलको रुपमा निरीक्षण गरिएको जानकारी गराइन्। उनले चुनाव आयोगको गाइड लाइन अनुसार नै चुनाव सुनिश्चित गराउन पुलिस प्रशासन मतदाताहरुको साथमा रहेको बताइन्। उनले मतदाताहरुले कुनै डर र त्रासबिना नै आफ्नो मतदानको प्रयोग गर्न सक्ने र मतदाताहरुको साथमा पुलिस प्रशासन सदैव रहेको पनि बताइन्।










