शहीद पार्टीको होइन जातिको हो: अनोश थापा

सोनादा: शहीद कुनै पार्टीको होइन जातिको हो। झण्डाको रङहरु अनेक प्रकारको फेरिने गर्छ। तर शहीदको बलिदानलाई झण्डाको रङहरुसित जोख्न मिल्दैन। पहाडमा आजसम्म धेर झण्डाको राजनीति मात्र भयो। त्यो झण्डाको राजनीतिले धेरैलाई झण्डी मात्र बनायो। अब हामीले झण्डाको राजनीति बन्द गर्नुपर्छ। समस्त गोर्खा जाति एकताको सूत्रमा बाँधिनु पर्छ। गोर्खाल्याण्ड हाम्रो आत्माकवच हो। पार्टीको झण्डा बिना सादा झण्डा र ब्यानरमा भागोप्रमो सोनादा-पचेङ समष्टिद्वारा नालीचाउर सार्वजनिक भवनमा आयोजित शहीद दिवस समारोहलाई सम्बोधन गर्दै समष्टिका तथा जीटीए कार्यकारी सभासद अनोश थापाले यस्तो मन्तव्य गरेका छन्।पूर्व निर्धारित कार्यक्रमअनुसार बिहान सबैभन्दा पहिला ग्यारेज लाइनस्थित पार्टी कार्यालयमा समष्टि अध्यक्ष सोनाम लामाको नेतृत्वमा पार्टी प्रतिनिधि अनि कार्यकर्ताहरुद्वारा शहीदहरुलाई समर्पित छोटो श्रद्धाञ्जली कार्यक्रम आयोजन गरियो। लगत्तै सोनादा बजारस्थित शहीद टाँसी भोटियाको शहीदवेदीमा पार्टी प्रतिनिधि अनि कार्यकर्ताहरुको उपस्थितिबीच कार्यकारी सभासद अनोश थापाले शहीदलाई श्रद्धाञ्जली अर्पण गरे। यसपछि समष्टिकै तत्वावधानमा नालीचाउरस्थित शहीदवेदीमा पनि बौद्ध अनि हिन्दु पराम्पराअनुरुप विधिवत पूजा गरेर कार्यकारी सभासद अनोश थापाले शहीदहरुलाई पुनः श्रद्धाञ्जली अर्पण गरे। उनीसँगै समष्टिका प्रतिनिधि र कार्यकर्ताहरुले पनि क्रमैले शहीदहरुलाई श्रद्धाञ्जली दिए।
नालीचाउर, नन्दगाउँ सार्वजनिक भवनमा समष्टि अध्यक्ष सोनाम लामाको अध्यक्षतामा आयोजित समारोहमा शहीद परिवारहरुप्रति गहिरो सम्वेदना प्रकट गर्दै अनोश थापाले अघि भने, गोर्खाल्याण्ड मुद्दा सिङ्गो गोर्खा जातिको मुद्दा हो। यसैले गोर्खाल्याण्डको मुद्दा कुनै एकजना व्यक्तिको हातमा दिए मूलमुद्धा कहिलेपनि पार लाग्दैन। हामीले गोर्खाल्याण्डको आवाज बुलन्द गरिरहनुपर्छ। प्रत्येक गोर्खाको मनमा सल्किने गोर्खाल्याण्डको भुप्रोलाई कहिले निभ्नु दिनु हुँदैन। कविता पाठ गर्नु र भावनामा बग्नु भन्दा साह्रो छ शहीदको सपना पूरा गर्नु। जबसम्म हामीले हामीभित्रको इच्छा, भय, विवशता, समस्याहरु पन्साएर एकमात्र मूलमुद्दाको लागि मारिमेट्न सक्दैनौ तबसम्म गोर्खाल्याण्ड असम्भव छ। आज हामी हाँसिरहेका छौँ, बाँचिरहेका छौँ। तर भोलि गएर हाम्रो इतिहास लेखिँदैन। जबकि शहीदहरुले आफ्नो स्वर्णिम इतिहास लेखिसकेका छन्। शहीद परिवारहरुप्रति मेरो सम्वेदना छ। परेको बेला शहीद परिवारलाई सहयोग पुर्याउनु म तयार छु।
समष्टि मूलसचिव सुकदेव राईद्वारा स्वागत सम्बोधन राखिएको कार्यक्रमलाई कार्यालय सचिव ठिलेन लामा अनि सभाध्यक्ष सोनाम लामाले पनि सम्बोधन गरे भने सांगठनिक सचिव किरण रुम्दली, युवा शक्तिका सलिम लोहारले कविता वाचन गरे साथै प्रीतम तामाङ, प्रभाकर गुरुङ र अमन गुरुङले शहीदहरुप्रति समर्पित श्रद्धाञ्जली गीत प्रस्तुत गरे। कार्यक्रममा समष्टि कोषाध्यक्ष मनकुस राई, सांगठनिक सचिव दावा लामा, नारी शक्ति अध्यक्षा बैजन्ती लामा, सचिवा सावित्री छेत्री सम्पूर्ण भ्रातृ संगठनका प्रतिनिधिहरु पनि उपस्थित थिए। समारोहबीच स्थानीय सोनादा भेगका १७ शहीद परिवारहरुलाई सम्मान पनि गरियो।

About Author

Advertisement