रायपुर: भारतका विदेशमन्त्री एस जयशंकर ले विश्वव्यापी संकटका बाबजुद भारत मजबुत रूपमा उभिएको बताएका छन्।
रायपुरस्थित भारतीय प्रबंध संस्थान रायपुर को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लो समय विश्वले विभिन्न चुनौतीहरूको सामना गरिरहेको बताए। विशेषगरी पश्चिम एशियामा विकसित सैन्य तनावले विश्व अर्थतन्त्र र ऊर्जा आपूर्तिमा असर पारेको उनको भनाइ थियो।
उनले अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वपछि उत्पन्न परिस्थितिले हाइड्रोकार्बन आपूर्तिमा समस्या देखिएको उल्लेख गरे। “हालका वैश्विक संकटहरूले हाम्रो सहनशीलताको परीक्षा लिएका छन्, तर भारत ती सबैबाट मजबुत रूपमा उभिएको छ,” उनले भने।
जयशंकरले वर्तमान विश्व व्यवस्था परिवर्तनको चरणमा रहेको उल्लेख गर्दै देशहरूले आफ्नो राष्ट्रिय क्षमता बलियो बनाउनुपर्नेमा जोड दिए। उनले प्रविधि, ऊर्जा, सैन्य शक्ति र स्रोतहरूमा बढ्दो प्रतिस्पर्धाले जोखिमसमेत बढाएको बताए।
उनका अनुसार विश्व अहिले अस्थिर र अप्रत्याशित अवस्थाबाट गुज्रिरहेको छ, जसका कारण सुरक्षा र स्थायित्व कायम गर्नु चुनौतीपूर्ण बन्दै गएको छ। उनले व्यापार र परराष्ट्र नीतिमा विविधीकरण तथा जोखिम न्यूनीकरण आवश्यक रहेको धारणा राखे।
कोभिड महामारी, अन्तर्राष्ट्रिय द्वन्द्व र जलवायु परिवर्तनलाई उनले यस दशकका प्रमुख चुनौतीका रूपमा उल्लेख गर्दै समावेशी विकास र सशक्त नेतृत्वको आवश्यकता औंल्याए।










