विष्णु रत्न शिक्षा पुरस्कार दिइने

विष्णुमाया थापा

बाग्राकोट- छोटो समयमै एक दर्बिलो साहित्यिक संस्थाको रुपमा स्थापित डुवर्स युवा साहित्य संवादको मञ्चबाट डुवर्सका नेपाली प्राथमिक पाठशालाहरूलाई थप प्रेरित गराउने उद्देश्यमा विशिष्ट कवि तथा गीतकार वेग वसन्त थापाले दिवङ्गत माता विष्णुमाया र पिता रत्नबहादुर थापाको स्मृतिमा विष्णु रत्न शिक्षा पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्।आउँदो अक्टोबरमा डुवर्स युवा साहित्य संवादको तत्त्वावधानमा डुवर्समा आयोजना हुने कार्यक्रमको मञ्चबाट उक्त पुरस्कार डुवर्सका कुनै एक उत्कृष्ट नेपाली प्राथमिक पाठशालालाई प्रदान गरिने छ। यसबारे थप जानकारी गराउँदै डुवर्स युवा साहित्य संवादका मूलसचिव नारायण काफ्लेले उत्कृष्ट नेपाली प्राथमिक पाठशालाको चयन गर्ने प्रक्रिया अन्तर्गत कार्यक्रमहरू युद्ध स्तरमा भइरहेको जनाएका छन्। डुवर्सका विभिन्न नेपाली प्राथमिक पाठशालाहरूको स्थलगत भ्रमण गरेर आवश्यक तथ्यहरूको सङ्कलन गरिने कार्य सम्पन्न भइरहेको पनि काफलेले बताए। उक्त सर्वेक्षण कार्य डुयुसासंको विशेष टोलीले गरिरहेको जनाउँदै एक उत्कृष्ट पाठशालाको छनोट विशेषज्ञहरूद्वारा गरिने र अन्तिम छनोटको घोषणा यसै महिनाको अन्ततिर सार्वजनिक गरिने समेत नारायण काफ्लेले बताए।

पुरस्कारको घोषणामाथि थप प्रकाश पार्दै वेग वसन्त थापाले डुवर्समा नेपाली प्राथमिक पाठशालाहरूले आफ्नो अवस्थामा सुधार ल्याउन सक्दो प्रयास गरिरहेको र यस्तो अवस्थामा थप प्रेरित गराउने अभीष्टमा पुरस्कार परम्परा आफ्नो तर्फबाट शुरु गरिएको खुलाए। प्राथमिक पाठशालाहरूले वहन गर्नपर्ने भूमिका महत्त्वपूर्ण रहिआएको उल्लेख गर्दै थापाले हिजोको दिनको तुलनामा डुवर्समा मातृभाषामा शिक्षा हासिल गर्ने राम्रो व्यवस्था भएको र यो व्यवस्था सुखमन मोक्तान र किताबसिंह राईहरू लगायत एकता समाजले गरेको संघर्षको परिणाम हो भन्ने कुराको पनि जिकिर गरे। थापाले डुवर्स युवा साहित्य संवादमा आबद्ध युवाहरूले सम्पन्न गर्दैल्याएका कार्यक्रमहरूबाट आफ़ू उत्साही बनेको बताउँदै युवाशक्तिलाई आफ्नो सदैव समर्थन र सहयोग रहने पनि बताए।गत वर्ष सामसिङमा डुवर्स युवा साहित्य संवादले आयोजना गरेको शिक्षा सङ्गोष्टीको मञ्चबाटै पुरस्कारको घोषणा गरिसकेको स्मरण गराउँदै साहित्यसँगै शिक्षालाई पनि लिएर कार्यक्रमहरू गर्नमा डुयुसासं अघि आएपछि त्यसमा आफ्नो समर्थन र सहमति बनाइराख्न पनि पुरस्कार परम्परा शुरु गरिएको वेग वसन्त थापाले जनाए।

About Author

Advertisement