गान्तोक: सिक्किमका विश्वविद्यालयहरूलाई उच्च शिक्षाको उत्कृष्ट केन्द्र बनाउन र राज्यका मौलिक आवश्यकतासँग जोड्न राज्य सरकार तथा लोकभवनले सक्रियता बढाएका छन्। लोकभवनमा राज्यपाल ओम प्रकाश माथुरको अध्यक्षतामा आयोजित उच्चस्तरीय बैठकमा प्रदेशका विश्वविद्यालयहरूको स्थिति, गुणस्तर, र आगामी कार्यदिशाबारे व्यापक छलफल भएको छ।
नियम पालना नगरे कडा कदम चालिने
समीक्षा बैठकका क्रममा शिक्षा मन्त्री राजु बस्नेतले विश्वविद्यालयका नेतृत्वलाई ‘सिक्किम निजी विश्वविद्यालय स्थापना तथा नियमन ऐन २०२५’ को अक्षरांश पालना गर्न स्पष्ट निर्देशन दिएका छन्। तोकिएको समयसीमाभित्र क्याम्पस निर्माण लगायतका भौतिक पूर्वाधार विकासका काम पूरा नगर्ने संस्थाहरूमाथि कडा कदम चालिने चेतावनी मन्त्री बस्नेतले दिए।
यसैगरी राज्यपाल माथुरले पनि शिक्षा विभागलाई विश्वविद्यालयका कामकारबाहीमाथि निरन्तर र कडा अनुगमन (मोनिटरिङ) गर्न निर्देशन दिएका छन्। नियम-कानुनको पालना गराउँदै विश्वविद्यालयका व्यावहारिक समस्या समाधानमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो।
पर्यटन, अर्गानिक खेती र गाउँ विकासमा जोड
राज्यपाल माथुरले शैक्षिक संस्थाहरूलाई केवल प्रशासनिक दायरामा सीमित नभई समाजप्रतिको उत्तरदायित्व बहन गर्न आग्रह गरे। उहाँले प्रत्येक विश्वविद्यालयले कम्तीमा एउटा गाउँ धर्मपुत्र/पुत्रीका रूपमा ग्रहण (गोद लिएर) गरी त्यसको समग्र विकासमा योगदान पुर्याउनुपर्ने विशेष प्रस्ताव राखेका छन्।
सिक्किमको वास्तविक पहिचान मानिएका पर्यटन, वातावरण संरक्षण र जैविक खेती (अर्गानिक फार्मिङ) का क्षेत्रमा विश्वविद्यालयहरूले आफ्ना अनुसन्धान र शैक्षिक गतिविधिलाई केन्द्रित गर्नुपर्नेमा राज्यपालले जोड दिए। “सिक्किम मेरो परिवार” को भावनाका साथ काम गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको ‘विकसित भारत २०४७’ को लक्ष्य साकार पार्न विश्वविद्यालयहरूले अग्रणी भूमिका खेल्नुपर्ने उनले बताए।
बैठकमा राज्यपालका आयुक्त तथा सचिव जितेन्द्र सिंह राजे, शिक्षा तथा समाज कल्याण विभागका वरिष्ठ अधिकारीका साथै विभिन्न विश्वविद्यालयका उपकुलपति र कुलसचिवहरूको उपस्थिति रहेको थियो।









