विश्वकप फुटबल २०२६: नवप्रवेशी केप भर्डेसँग स्पेन स्तब्ध, गोलरहित बराबरी

IMG-20260616-WA0000

​४० वर्षीय गोलरक्षक भोजिन्हा नायक बन्दा उपाधि दाबेदार स्पेन अङ्क बाँड्न बाध्य; लामिन यामलले रचे नयाँ कीर्तिमान

नेत्र बिक्रम बिमली

​विश्वकप २०२६ को उपाधि दाबेदार मानिएको पूर्व विजेता स्पेनले आफ्नो पहिलो खेलमै अप्रत्यासित नतिजा बेहोरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा मंगलबार सम्पन्न समूह ‘एच’ को खेलमा स्पेन नवप्रवेशी अफ्रिकन टोली केप भर्डेसँग गोलरहित (०–०) बराबरीमा रोकिएको हो। बलियो स्पेनलाई अङ्क बाँड्न बाध्य पार्ने क्रममा केप भर्डेका ४० वर्षीय भेट्रान गोलरक्षक भोजिन्हा नायक बने।
​खेल अवधिभर स्पेनले बलमाथि पूर्ण नियन्त्रण राख्दै विपक्षी पोस्टमा शृङ्खलाबद्ध आक्रमण गरे पनि केप भर्डेको मजबुत रक्षापङ्क्ति र गोलरक्षक भोजिन्हाको असाधारण प्रदर्शनका अगाडि टोली असहाय बन्यो। ४० वर्ष १२ दिनको उमेरमा मैदान उत्रिएका भोजिन्हाले स्पेनका एकपछि अर्का उत्कृष्ट प्रहारहरूलाई विफल तुल्याएका थिए। खेलको अन्तिम सिट्ठी बजेलगत्तै नवप्रवेशी टोलीले ऐतिहासिक अङ्क प्राप्त गरेको खुसीयालीमा मैदानमै उत्सव मनाएको थियो। यो बराबरीसँगै स्पेन पहिलो खेलमै दबाबमा परेको छ र उसले अब समूह चरणका आगामी खेलमा साउदी अरेबिया र उरुग्वेको सामना गर्नुपर्नेछ।
​यामल र भोजिन्हाको दुई फरक कीर्तिमान
खेल स्पेनका लागि सुखद नरहे पनि टोलीका युवा स्टार लामिन यामलका लागि भने ऐतिहासिक रह्यो। १८ वर्ष ३३७ दिनको उमेरमा मैदान प्रवेश गर्दै यामलले दुई ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता (युरो २०२४ र विश्वकप २०२६) खेल्ने सबैभन्दा कम उमेरको युरोपेली खेलाडीको कीर्तिमान आफ्नो नाममा गरे। यसअघि यो कीर्तिमान बेलायतका जुड बेलिङ्घम (१९ वर्ष १४५ दिन) को नाममा थियो।
​अर्कातर्फ, उत्कृष्ट बचाउ गर्दै खेलको नायक चुनिएका केप भर्डेका गोलरक्षक भोजिन्हा विश्वकप इतिहासमा मैदान उत्रने नवौँ पाका खेलाडी बनेका छन्।

About Author

Advertisement