‘विशेष सघन संशोधन २०२६’ को नवौँ दिन: गान्तोक जिल्लामा ८० हजारभन्दा बढी मतदाता समक्ष पुग्यो विवरण दर्ता फारम

FB_IMG_1780939786831

गान्तोक: गान्तोक जिल्लाभरिका बुथ स्तरका अधिकारीहरू (बीएलओ) द्वारा ‘विशेष सघन संशोधन (एसआईआर) २०२६’ अन्तर्गत घर-घरै पुगेर निर्वाचन विवरण फारम (इन्युमरेसन फर्म) वितरण गर्ने कार्य सघन रूपमा जारी राखिएको छ। यसै क्रममा अभियानको नवौँ दिनसम्म आइपुग्दा गान्तोक जिल्लाले एउटा ठूलो उपलब्धि हासिल गर्दै ८० हजारको आँकड़ा पार गरेको छ। जिल्लाका सहरी, ग्रामीण र दुर्गम क्षेत्रका मतदाताहरूलाई समेट्दै अहिलेसम्म कुल ८३,६८१ मतदातासमक्ष यो फारम पुर्‍याइएको छ, जुन जिल्लाका कुल १,२२,२४० मतदाताहरूको ६८.४६ प्रतिशत हो।
​यस अभियान अन्तर्गत शारीरिक रूपमा अशक्त (पीडब्ल्युडी) र घरबाहिर निस्कन नसक्ने वृद्धवृद्धा मतदाताहरूलाई विशेष प्राथमिकता दिइएको छ, ताकि यस संशोधन प्रक्रियामा कसैको पनि सहभागिता नछुटोस्। कतिपय दुर्गम स्थानहरूमा बीएलओहरूले लामो दूरी र कठिन भौगोलिक मार्गहरू तय गर्दै प्रत्येक योग्य मतदाताको ढोकासम्म फारम पुर्‍याइरहेका छन्।
​विशेष गरी टुमेन-लिङ्गी विधानसभा निर्वाचन क्षेत्रका बीएलओहरूले हालै गएको पहिरो प्रभावित क्षेत्रलगायत अत्यन्तै दुर्गम र चुनौतीपूर्ण भूभागहरू पार गर्दै मतदाताहरूसम्म फारम पुर्‍याउन सफल भएका छन्। उनीहरूको यस अथक प्रयासले गर्दा दुर्गम र पहुँचभन्दा टाढा रहेका स्थानका नागरिकहरू पनि यस महत्त्वपूर्ण लोकतान्त्रिक प्रक्रियामा सामेल हुन पाएका छन्।
​गान्तोक जिल्ला निर्वाचन कार्यालय (डीआईओ) का अनुसार जिल्लाका विभिन्न विधानसभा क्षेत्रहरूमा फारम वितरणको पछिल्लो विवरण यस प्रकार रहेको छ:
​१६-टुमेन-लिङ्गी: १३,१५७
​१७-खामदोङ-सिङताम: ९,८२८
​२३-श्यारी: ११,२७५
​२४-मार्ताम-रुमटेक: १५,१९५
​२५-अपर तादोङ: ७,७८४
​२६-अरिथाङ: ७,७७१
​२७-गान्तोक: ७,०३०
​२८-अपर बुर्तुक: ९,४१०
​३२-सङ्घ: २,२३१
​बीएलओहरूद्वारा घर-घरमै पुगेर यसरी निर्वाचन फारम वितरण गर्ने र संकलन गर्ने यो कार्य आगामी २८ जून २०२६ सम्म निरन्तर जारी रहने जनाइएको छ।

About Author

Advertisement