विधायक विष्णु कुमार खतिवड़ाले मन्त्री पदको शपत ग्रहण

bkk_5

गान्तोकः रिनाक निर्वाचन क्षेत्रका विधायक विष्णु कुमार खतिवड़ाले मन्त्रीको रूपमा शपत ग्रहण गरेका छन्। विधायक खतिवड़ालाई आज राजभवनमा आयोजित शपत ग्रहण समारोहमा राज्यपाल लक्ष्मण प्रसाद आचार्यले पद अनि गोपनियताको शपत दिलाए। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ, विधानसभा अध्यक्ष अरुण उप्रेती, मन्त्रीगण, विधायकगण, सल्लाहकारगण, अध्यक्षगण, मुख्यमन्त्रीका राजनीतिक सचिव, विभागीय प्रमुखहरू तथा अन्य गणमन्य व्यक्तिहरू उपस्थित थिए।

शपत ग्रहणपछि खतिवड़ालाई राज्यपाल आचार्य, मुख्यमन्त्री तामाङ र उनकी धर्मपत्नी कृष्ण राईले खदा लगाइदिएर बधाई दिए। यसैगरी, मन्त्रीगण र विधायकगण लगायत उपस्थित अन्य गणमान्य व्यक्तिहरूले पनि उनलाई खदा लगाइदिएर बधाई दिए। यस अघि मिडियाकर्मीहरूसॅंग कुराकानी गर्दै विधायक खतिवड़ाले आफुलाई मन्त्री पद प्रदान गरिएकोमा खुशी व्यक्त गरे। उनले भने, ‘म खुशी छु, मभन्दा पनि धेरै जनता खुशी छन्।’ प्रश्नहरूको जवाफमा उनले आफु जिम्मेवारीबाट नभाग्ने अनि जनताको चित्त बुझाएर काम गर्नेछु भनी बताए।

उल्लेखनीय छ, सिक्किम सरकारका स्वास्थ्य मन्त्री डा. एमके शर्माले आफ्नो पदबाट राजीनामा दिएपछि स्वास्थ्य मन्त्रीको पद रिक्त छ। विधायक विष्णु कुमार खतिवड़ाले आज मन्त्री पदको शपत ग्रहण गरेपछि उनलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी सुम्पिन सक्ने सम्भावना देखिएको छ। यस अघि पनि मन्त्री परिषदमा फेरबदल भएको थियो। शहरी विकास विभाग मन्त्री अरुण उप्रेतीलाई विधानसभा अध्यक्ष अनि विधानसभा अध्यक्ष एलबी दासलाई शहरी विकास विभाग मन्त्री बनाइएको थियो।

About Author

Advertisement