विद्या भारती सिक्किमद्वारा उत्तरेमा सरस्वती संस्कार केन्द्रको उद्घाटन

n59446331817112952129530ac18465eccf315184d44927d65a259896549f6de85e6e72400d9b549d3f24b6.jpg

गान्तोक: पश्चिम सिक्किमको गेजिङ जिल्ला अन्तर्गत देन्ताम महकुमामा पर्ने सुदूर सिक्किम (भारत)-नेपाल सीमा उत्तरे गाउॅंमा विद्या भारती सिक्किमको सक्रियतामा आज सरस्वती संस्कार केन्द्रको विधिवत उद्घाटन गरिएको छ।

यस अवसरमा मानेबुङ ग्राम पञ्चायतका सभापति भीम कुमार सुब्बा मुख्य अतिथि थिए। यसैगरी, वार्ड पञ्चायत डीपी गुरूङ, उत्तरे एसएसबी केन्द्रका निरीक्षक दिपक उपाध्याय, सरकारी विद्यालयका पूर्व प्रधानाध्यापक लालमान सुब्बा र विद्या भारती सिक्किमका संयोजक मोहन शर्मा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

रंगोत्सव होलीको यस शुभ अवसरमा आयोजित संस्कार केन्द्र उद्घाटन कार्यक्रममा स्थानीय समाजका वरिष्ठ नागरिकहरू, स्थानीय गाउॅंले जनता, विद्यार्थीहरूका अभिभावक आदि उपस्थित थिए।

समाज सेविका एवं पूर्व जिल्ला पञ्चायत जाङ्गमु शेर्पाले कार्यक्रममा स्वागत सम्बोधन राख्दै कार्यक्रम आयोजनको उद्देश्यबारे जानकारी गराइन्। विशिष्ट अतिथि निरीक्षक उपाध्यायले भविष्यमा एसएसबीद्वारा सहयोगको आश्वासन दिए। उनले केन्द्रसॅंग मिलेर समाजमा शिक्षा, पर्यावरण, सुस्वास्थ्य सम्बन्धित कार्यक्रमहरू गर्ने वचन पनि दिए।

मुख्य अतिथि ग्राम पञ्चायतका सभापति भीम कुमार सुब्बाले यस ग्रामीण क्षेत्रबाट श्रेष्ठ कार्यको थालनी गरिएकोमा आभार प्रकट गरे। उनले विद्यार्थीहरूका लागि खाता, कलम तथा अन्य आवश्यक सामग्रीहरू आगामी हप्ता प्रदान गर्ने घोषणा गरे। उनले भविष्यमा समाजमा जन जागरण यसै सरस्वती संस्कार केन्द्रको माध्यमद्वारा सबैको सहयोगमा गर्ने विचार व्यक्त गरे।

कार्यक्रममा विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले विद्या भारती र संस्कार केन्द्रको विषयमा जानकारीहरू राखे। कार्यक्रममा विद्यार्थीहरूले देशभक्ति गीत प्रस्तुत गरे। रंगोत्सव होली पर्वलाई ध्यानमा राख्दै उपस्थित मानिसहरूले एक अर्कालाई रंग लगाउॅंदै शुभकामना आदान प्रदान गरेका थिए।

About Author

Advertisement