गान्तोक: भारत सरकारको सामाजिक न्याय तथा अधिकारिता मन्त्रालयको सहकार्यमा देशका सबै राज्य सरकारको सामाजिक न्याय विभागले ‘युवा देशको ऊर्जा र भविष्य’ भन्ने नाराका साथ देशव्यापी कार्यक्रम आयोजना गरेको छ। देशभरिका सरकारी तथा निजी स्कूल र कलेजहरूमा यो अभियान सञ्चालित गरिएको छ। विशेषगरी युवालाई सुरक्षित, स्वस्थ राख्न र देशमा लागु औषधिमुक्त समाज निर्माण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। विद्या भारती सिक्किमद्वारा पनि नशामुक्त भारत अभियान अन्तर्गत सबै केन्द्र र विद्यालयहरूका विद्यार्थीहरू, शिक्षकहरू र प्राचार्यहरूलाई शपथग्रहण गराइएको छ। विद्यालयका विद्यार्थीहरूले सक्रियतापूर्वक अभियानमा लागेर यसको उद्देश्यबारे जानकारी गराइरहेका छन्। लागु पदार्थले व्यक्ति, समाज र राष्ट्रमा कस्तो असर पार्छ? सुस्वास्थ्य, युवा उर्जा र नागरिक निर्माण गर्न लागु पदार्थको लतबाट मुक्त हुनै पर्छ भन्ने नारामा कार्यक्रम सञ्चालन गरिएको थियो। विद्या भारतीले जारी गरेको प्रेस विज्ञप्तिमा यो सामाजिक कार्य भएकोले सबैले जनचेतनाको माध्यमबाट यो अभियानलाई सुदृढ गर्न मदत गर्ने अपील पनि गरेका छन्। विकसित राष्ट्रका लागि स्वस्थ समाज आवश्यक छ भन्दै विद्यालयका विद्यार्थीहरुको माध्यमबाट नै समाजमा यस प्रकारको नकरात्मकतालाई रोक्न सकिने उल्लेख छ। सामाजिक र शैक्षिक कार्यका साथसाथै विद्या भारतीले विभिन्न महत्वपूर्ण सामाजिक मुद्दाहरूमा पनि काम गर्दै आएको छ। यसअन्तर्गत पर्यावरण, जल अनि ऊर्जा संरक्षण, भूमि र परिवार एकताबारे समाजमा चेतना जगाउने काममा सक्रियता देखाइरहेको छ। विद्या भारती सिक्किम अन्तर्गत दार्जीलिङ, कालेबुङ र सिक्किमका विद्यालयहरूमा आज लागूपदार्थ विरोधी अभियानको संकल्पमा एकबद्ध बन्ने शपथ पनि गराएको छ।









