मुख्यमन्त्रीको दूरदर्शी नेतृत्वको प्रतिफल
याङसुम: याङसुमस्थित पेमा रिङ्जिङ लामा वरिष्ठ माध्यमिक विद्यालयमा नवप्रतिष्ठित फुटओभर ब्रिज (आकासे पुल) को एक भव्य समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ। क्षेत्रीय विधायक श्री लोकनाथ नेपालले मुख्यमन्त्रीका ओएसडी (राजनीतिक मामिला) श्री कर्म सुब्बा, अल सिक्किम सारथी वेलफेयर बोर्डका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सोनाम ओङदुप भुटिया, सीएलसी अध्यक्ष, जिल्ला पञ्चायत सदस्य, ग्राम पञ्चायत सदस्य तथा बीएसी सदस्यहरूको गरिमामय उपस्थितिमा उक्त पुलको उद्घाटन गर्नुभएको हो। मुख्यमन्त्रीको दूरदर्शी नेतृत्व र मार्गदर्शनमा सम्पन्न यस आयोजनाले राज्य सरकारको ‘सुनौलो सिक्किम, समृद्ध सिक्किम र समर्थ सिक्किम’ को संकल्पप्रतिको अटल प्रतिबद्धतालाई उजागर गरेको छ।

मुख्यमन्त्रीका ओएसडी (राजनीतिक मामिला) श्री कर्म सुब्बा र उहाँको समर्पित टोलीको प्रत्यक्ष रेखदेख एवं कुशल व्यवस्थापनमा यो निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको हो। नवउद्घाटन गरिएको यो आकासे पुलले विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीय जनसमुदायका लागि सुरक्षित र भरपर्दो पैदल मार्ग प्रदान गर्दै उनीहरूको सुरक्षा र सहजतामा ठुलो सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ।
सामुदायिक विकासमा केन्द्रित रहेर सार्वजनिक पूर्वाधारको सुदृढीकरण, शैक्षिक सुविधाहरूको स्तरोन्नति र नागरिक कल्याण सुनिश्चित गर्ने दिशामा सरकारको निरन्तर प्रयासको यो एउटा सजीव उदाहरण भएको कुरा एक प्रेस विज्ञप्ति मार्फत जनाइएको छ।











