वाणिज्य तथा उद्योग विभागद्वारा ‘र्याम्प’ कार्यक्रम अन्तर्गत दुई दिने प्याकेजिङ तालिम सफलतापूर्वक सम्पन्न

9dc2a087-0f76-4705-9338-01aaacd2b251

गान्ताेक: सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागले सूक्ष्म, लघु तथा मध्यम उद्योग (एमएसएमई) का लागि आयोजना गरेको दुई दिने प्याकेजिङ तालिम कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ। भारत सरकारको सूक्ष्म, लघु तथा मध्यम उद्योग मन्त्रालयको ‘र्याम्प’ (RAMP – Raising and Accelerating MSME Performance) कार्यक्रम अन्तर्गत यस विशेष तालिमको आयोजना गरिएको हो।
​उक्त तालिम कार्यक्रमको औपचारिक उद्घाटन वाणिज्य तथा उद्योग विभागकी सचिव सुश्री कर्मा डी. युत्सोले गर्नुभएको थियो। उद्घाटन मन्तव्य राख्दै सचिव युत्सोले क्षमता अभिवृद्धि गर्ने यस्ता प्रयासहरूले लघु तथा मध्यम उद्योगहरूको क्षमतालाई मजबुत बनाउने कुरामा जोड दिनुभयो। उहाँले स्थानीय उत्पादनहरूको गुणस्तर, प्रतिस्पर्धात्मक क्षमता र बजारको मागलाई बढाउनका लागि उद्यमीहरूलाई आधुनिक प्याकेजिङ प्रविधि अपनाउन प्रोत्साहन गर्नुभयो। ‘र्याम्प’ भारत सरकारको एउटा प्रमुख योजना हो, जसको मुख्य उद्देश्य संस्थागत सुदृढीकरण र उन्नत व्यवसायिक सेवाहरू मार्फत एमएसएमई क्षेत्रको कार्यक्षमता, प्रतिस्पर्धात्मकता र बजारमा पहुँच बढाउनु रहेको छ।
​जुन २९ र ३० तारिखसम्म सञ्चालन भएको यस तालिममा सिक्किमभरिका ३५ वटा एमएसएमई उद्यमीहरूको सहभागिता रहेको थियो। प्याक आईक्यू, कोलकाताका निर्देशक श्री परीक्षित अग्रवाल र अनुसन्धान तथा विकास आर एंड डी) विशेषज्ञ सुश्री प्रिती अग्रवालले सहजकर्ताको रूपमा प्रशिक्षण दिनुभएको थियो। दुई दिनको अवधिमा विशेषज्ञहरूले सिक्किमका स्थानीय उद्यमीहरूले प्याकेजिङका क्षेत्रमा भोग्दै आएका चुनौतीहरू र तिनको व्यावहारिक एवं किफायती समाधानका उपायहरूबारे विस्तृत रूपमा चर्चा गर्नुभयो। यसका साथै ब्रान्डिङ, प्याकेजिङ र लेबलिङले उत्पादनको पहिचान बनाउन, कानुनी मापदण्डहरू पूरा गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्‍याउन कस्तो भूमिका खेल्छ भन्नेबारे पनि प्रकाश पारिएको थियो।
​तालिमको मुख्य आकर्षण ‘वान-अन-वान’ (व्यक्तिगत) अन्तर्क्रिया सत्र रहेको थियो, जहाँ सहभागी उद्यमीहरूले प्याक आईक्यूका विशेषज्ञहरूसँग आफ्ना उत्पादन र प्याकेजिङ सम्बन्धी समस्याहरूबारे व्यक्तिगत रूपमा परामर्श लिने अवसर पाएका थिए। यस सफल कार्यक्रमले सिक्किमका स्थानीय उद्योगहरूलाई नवप्रवर्तनतर्फ डोर्‍याउन र उनीहरूको बजार प्रतिस्पर्धात्मक क्षमता बढाउन वाणिज्य तथा उद्योग विभाग निरन्तर लागिपरेको कुरालाई थप पुष्टि गरेको छ।

About Author

Advertisement