शुक्रबार हुने अन्तिम यात्राको सेवाकाई
खरसाङ: भारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकार एंव नेपाली भाषी इसाईहरूका वरिष्ठ अगुवा रेभरेन्ट डा. एडोन रोंगोंगको बुधबार बिहान निधन भएको छ। बुधवार बिहान लगभग ७.३० बजेतिर ८४ वर्षको उमेरमा निधन भएको छ। उनी धेरै समयदेखि मिर्गोला र मधुमेह रोगले ग्रसित थिए भने विगत धेरै दिनदेखि सप्ताहमा दुईपल्ट सोमबार र शुक्रबार डाईलोसिस गर्दै आईरहेका थिए। बिहान अचानक पाईखाना गएको समय चक्कर लागेर बेडमा सुतेको समय बेहोस भएपछि डाक्टर भएकोमा लाँदा डाक्टरले मृत घोषित गरेको जानकारी परिवार पक्षबाट दिएका छन्। उनले आफुपछि पत्नी मन्नु रोंगोंग र तीन छोरीहरू र नाता नातिनीहरू छोड़ी गएका छन्।
डा. एडोन रोंगोंगको निधन भएको खबर सुनेपछि भारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकारहरू, इसाई जगतका वरिष्ठ पास्टरहरू र अगुवाहरूको वरिपरिका चर्चहरूका अगुवाहरू उपस्थित भएर श्रध्दाञ्जली अर्पण गरिरहेका छन् भने शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गरिहेका छन्। डा एडोन रोंगोंगको अन्तिम बिदाईको यात्रा आगामी शुक्रबार सिलगढीको मतिगढ़ास्थित हिमालय फ्रि चर्चमा दिउँसो १ बजेदेखि गरिने भएको जानकारी प्राप्त भएको छ। उनको पार्थिव शरीरलाई सिलगढीको कावाखालीमा रहेको कबरस्थानमा दफ्नाइने भएको छ। यस कबरस्थानमा डा. एडोन रोंगोंगलाई प्रथममा दफ्नाइने भएको छ। डा. एडोन रोंगोंगको जन्म १७ अप्रेल सन् १९४० मा भएको थियो। उनी सुवास घिसिङ, नरबहादुर भण्डारी जस्ता दिगज राजनीतिज्ञहरूका समकालीन हुन् भने उनीहरू कलेजको समयमा सँगसँगै अध्ययन गरेका थिए। उनी असीत राई, मदन ओझा, नन्द हाङखिम, गुप्त प्रधान आदिको समकालीन हुन्। डा. एडोन रोंगोंगले नेपाली साहित्यमा धेरैवटा कृतिहरू दिएका छन् भने धेरैवटा पुस्तकहरू र पत्र पत्रिकाहरूको पनि सम्पादन गरिसकेका छन्। उनको कृतिहरूमा विपना हार (कथा संग्रह), हारभित्रको जीत (रूपान्तरित उपन्यास), साना ठूला ताराहरू (बाल कथा संग्रह), चोइटा (कथा संग्रह), नेपाली गीत माला (बाल कविता संग्रह), यत्न प्रयत्नहरू (लेख संग्रह), मायाका फूलहरू (बाल कथा संग्रह), एकान्तभित्रको स्वतन्त्रता (कथा संग्रह), रूख यो सड़कमास्तिरको (कविता संग्रह), वचनको साथमा हामी (नेपाली बाईबलको ऐतिहासिक झलक), सीमादेखि सीमासम्म (कविता संग्रह) आदि प्रकाशित छन्। उनले पारसमणि प्रधान स्मृति पुरस्कार, स्रष्टा पुरस्कार, पाद्री गङ्गाप्रसाद प्रधान स्मृति आध्यात्मिक साहित्य सम्मान लगायत थुप्रै सम्मानहरू प्राप्त गरेका छन्।
डा. एडोन रोंगोंगको विषयमा प्रेरित ध्रुव शिष्यको प्रमुख संयोजकत्व र हनोक थापाको सम्पादनमा सम्मान परिवारको प्रकाशनमा अभिनन्दन ग्रन्थ ‘डा एडोन रोंगोंग अभिनन्दन ग्रन्थ’ पनि प्रकाशित छन्। उनले पाद्री गङ्गाप्रसाद प्रधानको योगदान विषयमा जागरूक गराउन विशेष योगदान दिएका थिए भने ‘अजम्बरी गङ्गाप्रसाद प्रधान स्रष्टाहरूको दृष्टिमा’ पुस्तकको सम्पादन पनि गरेका थिए भने सन् २००७ देखि २०१८ सम्म इसाई समाचार पत्रिका ‘विभावना’ को प्रधान सम्पादक र प्रकाशकको रूपमा कार्य गरिसकेका छन्। डा. एडोन रोंगोंगको निधनमा उनी विषयमा पत्नी मन्नु रोंगोंगले पति एडोन रोंगोंगले गोल्डेन लाइफ जिएको बताउँदै १९७० सालमा विवाह गरेपछि आफुहरू ५४ वर्ष सँग सँगै बिताएको र उनले १९७२ देखि २००० सालसम्म नेपालमा सेवाकाई गरेर लामो समय प्रभुको सेवाकाईमा दिएर धेरै अगुवाहरू र विश्वासीजन जन्माउन सफल भएको बताएकी छन्। त्यसरी नै एल्डर दयारत्न प्रधानले एडोन सर हिमाली भेकको अगुवा रहेको र उनको योगदान इसाई जगतसितै नेपाली साहित्य जगतमा पनि तेतिकै योगदान रहेको बताएका छन्। आफु पनि उनको एकजना शिष्य रहेको र एडोन रोंगोंगको निधनले एउटा युगको अन्त्य भएको बताएका छन्। यसै क्रममा डा. एडोन रोंगोंगको भानिज पावल रोंगोंगले बिहान अचानक बिमारी भएर लडेपछि डाक्टरले मृत घोषणा गरेको र उनको पार्थिव शरीरलाई पैतृक गाउँ मंगमाया लाने भनिए पनि सबैको सुझावमा सिलगढीको कावाखालीमा रहेको नयाँ क्रबरस्थानमा राखिने र उनकै शरीरलाई दफ्नाएर त्यस ठाउँको शुरुवात गरिने भएको जानकारी गराएका छन्।

त्यसरी नै भारतीय नेपाली भाषी इसाई लेखकहरूको साझा मञ्च स्रष्टा सङ्गमको तर्फबाट मूल सचिव एंव पास्टर शरण शरदले एडोन रोंगोंग सर स्रष्टा सङ्गमको मुख्य सल्लाहकार रहेको र उनी व्यक्ति एक रूप अनेक रहेको बताउँदै उनको निधनले साहित्य र इसाई जगतमा ठूलो क्षति पुगेको बताएका छन्। एडोन रोंगोंगको निधनले खबरले सिलगढी अन्तर्गत शिव मन्दिरको न्यु रंगियास्थित उनको निवासस्थानमा धेरै साहित्यकारहरू एंव इसाई जगतका ख्यातिप्राप्त व्यक्तिहरू र पास्टर अगुवाहरू उपस्थित रहेका थिए। यस क्रममा डा. घनश्याम नेपाल, ज्ञानेन्द्र खतिवड़ा, राजा पुनियानी, सुरज रोसुरी, डा. रेमिका थापा, सलोन कार्थक, हेमन्त काँफ्ले, एल्डर दयारत्न प्रधान, ईबीसीएका संस्थापक रेभरेन्ट बीरू गुरुङ, भारतीय नेपाली भाषी इसाई स्रष्टाहरूका साझा मञ्च स्रष्टा सङ्गमको तर्फबाट मूल सचिव शरण शरद, पूर्व सचिव एंव वर्तमान संयोजक हनोक थापा, पास्टर निमा लेप्चा लगायत अन्यहरू उपस्थित रहेका थिए।









